• ११ असोज २०८२, शनिबार

गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापितः संयुक्त राष्ट्रसङ्घ

blog

संयुक्त राष्ट्रसङ्घ, असोज ११ गते । संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानविय सहायता समन्वय कार्यालय (ओसिएचए) ले दिएको जानकारी अनुसार, पछिल्ला २४ घण्टाभित्र गाजा सहरमा बारम्बार हवाई आक्रमण, तोपगोलाबारी, हेलिकप्टर तथा अन्य यन्त्रबाट आक्रमण भएको छ । साथै, राहत सामग्रीको प्रतीक्षामा रहेका निर्दोष नागरिकहरूमाथि गोली प्रहारसमेत गरिएको छ । यस आक्रमणमा हालसम्म दर्जनौं नागरिकको ज्यान गएको र दुई सयभन्दा बढी घाइते भएका छन् । 

गाजा सहरबाट ज्यान जोगाउँदै भाग्ने मानिस दक्षिण गाजातर्फ सरेका छन् । ओसिएचएका अनुसार, पछिल्लो समय करिब १६ हजार ५ सय व्यक्ति उत्तर गाजाबाट विस्थापित भएका छन् । तर, दक्षिण गाजाको अवस्थासमेत अत्यन्तै दयनीय रहेको छ । गाजा सहरमा अझै पनि लाखौं नागरिकहरू फसेका छन्, जसले अत्यावश्यक सेवा र राहत सामग्रीमा भर पर्नु परिरहेको छ । तर, इजरायली पक्षबाट मानवीय सहायता पुर्याउने काममा निरन्तर अवरोध सिर्जना भइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घले इजरायली सेनासँग समन्वय गरी सहायता सामग्री पुर्याउने १५ वटा अभियान सञ्चालन गरेकोमा केवल ७ वटा मात्र पूर्णरूपमा सफल भएका छन् । बाँकी अभियानहरू विभिन्न अवरोधका कारण रोकिएका छन् । केही राहत सामग्री केरम शालोम नाकाबाट संकलन गरिएको भए पनि उत्तर गाजामा पानी पुर्याउन अनुमति दिइएको छैन । अन्य नाकाबाट खाद्यान्न लिनसमेत निषेध गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सबै पक्ष-इजरायल, हमास तथा अन्य सशस्त्र समूहलाई-मानव सहायता कार्यकर्ताको सुरक्षा सुनिश्चित गर्न, उनीहरूको सवारी साधनमा आक्रमण नगर्न र पहुँचको अवरोध नगर्न आग्रह गरेको छ । त्यसैगरी, पश्चिमी किनारमा जोर्डन र अधिनस्थ फिलिस्तीनी क्षेत्रबिचको एक मात्र सीमा नाका एलनबी पुल यात्रुका लागि खोलिएको छ भने राहत सामग्री ओसारपसारका लागि अझै बन्द रहेको छ ।

जोर्डनमा तयार अवस्थामा रहेको करिब ३५ प्रतिशत राहत सामग्री गाजामा पुर्याउन नपाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ओसिएचएको प्रतिवेदन अनुसार, २०२३ अगस्त १३ गतेदेखि हालसम्म पश्चिमी किनार क्षेत्रमा इजरायली बासिन्दा तथा सुरक्षाकर्मीको आक्रमण र पहुँचमा लगाइएको प्रतिबन्धका कारण तीन हजारभन्दा बढी फिलिस्तीनी विस्थापित भएका छन् । 

तीमध्ये आधा बालबालिका हुन्, जो मुख्यतः बेदुइन र पशुपालन गर्ने समुदायबाट आएका हुन् । संयुक्त राष्ट्रसंघले गाजा र पश्चिमी किनार दुबै क्षेत्रमा हिंसाको अन्त्य, सर्वसाधारणको सुरक्षा, जवाफदेहिता र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न सबै पक्षहरूलाई आह्वान गरेको छ । रासस/सिन्ह्वा