नयाँदिल्ली, असोज १० गते । दक्षिण एसियाको वार्षिक मनसुन वर्षा एक अर्बभन्दा बढी मानिसहरूको जीवन रेखा मानिन्छ । तर जलवायु परिवर्तनका कारण यो अझ बढी अनियमित, घातक र विनाशकारी बन्दै गएको छ । यसमा कमजोर पूर्वाधारले प्रभावलाई झनै गहिरो बनाइरहेको विज्ञको चेतावनी छ ।
यो क्षेत्रको कृषि, खानेपानी आपूर्ति र जलविद्युत् उत्पादन प्रायः मौसमी वर्षामा निर्भर छन् । तर पछिल्ला अध्ययनले जलवायु परिवर्तनले चरम वर्षाका विस्फोट र लामो खडेरीका चक्रलाई बढाउँदैछ भन्ने देखाउँछन् ।
-मनसुन के हो ?-
अरबी शब्द मौसिम (मौसम) बाट व्युत्पन्न मनसुन भूमि अनि समुद्रको तापान्तरका कारण हुने हावाको उल्टो बहाव हो । विश्वका धेरै क्षेत्रमा यस्तो ढाँचा देखिन्छ । दक्षिण एसियामा, दक्षिणपश्चिमी मनसुन मे महिनाको अन्त्यमा दक्षिण भारतबाट सुरु भई सेप्टेम्बरसम्म उत्तरतर्फ फैलिन्छ । त्यसपछि अक्टोबरमा भूमिगत ताप घटेपछि बङ्गालको खाडीबाट आद्र्रता बोकेर आउने उत्तरपूर्वी मनसुनले दक्षिण भारत र श्रीलङ्कामा वर्षा गराउँछ ।
-परिवर्तनका सङ्केत-
भारत सरकारले यस वर्ष चेतावनी दिँदै भनेको छ, “मनसुनले अझ बारम्बार लामो सुक्खा खण्ड र तीव्र वर्षासहित पुनःआकार लिँदैछ ।” भारतको मौसम विज्ञान विभागका अनुसार सन् १९५० र सन् २०१५ को बीचमा चरम दैनिक वर्षाको घटना करिब ७५ प्रतिशतले बढेको छ । आधा वर्षा अब २० देखि ३० घण्टाभित्र खस्ने गरेको सरकारी तथ्याङ्क छ ।
पाकिस्तानमा यस वर्ष मनसुन सामान्यभन्दा चाँडो आएको र जुनको अन्त्यतिर नै ‘अत्यधिक’ वर्षा भएको मौसम विज्ञान विभागका प्रवक्ता इरफान विर्कले बताउनुभयो । अगस्टको मध्यसम्ममा देशमा गत वर्षको तुलनामा ५० प्रतिशत बढी वर्षा भएको थियो ।
-जलवायु परिवर्तनको भूमिका-
विशेषज्ञहरूका अनुसार तातो समुद्रले हावामा बढी आद्र्रता भण्डारण गर्छ, जसलाई तातो वातावरणले अझै धेरै समात्छ । त्यसैले वर्षा हुँदा अत्यधिक खस्छ । “अझ तीव्र र सम्भवतः लामो मनसुनको प्रवृत्ति देखिँदैछ”, युनिभर्सिटी अफ न्युसाउथ वेल्सका जलवायु विज्ञ अगुस सान्टोसोले भन्नुभयो ।
तर एल निनो र ला निना जस्ता मौसमीय चक्रले पनि मनसुन ढाँचामा ठूलो प्रभाव पार्छन् । यी चक्रहरू जलवायु परिवर्तनकै कारण अझ अनिश्चित हुँदै गएका छन् । तर भविष्यवाणी अझै चुनौतीपूर्ण छ । “हामीसँग भारतीय उपमहाद्वीप र हिमाली क्षेत्रका धेरै ठाउँमा पर्याप्त अवलोकन सञ्जाल छैन”, इस्लामिक युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिक शकिल रोम्सूले भन्नुभयो, “यसले ढाँचा बुझ्न र अनुमान गर्न कठिन बनाउँछ ।”
-असरहरू-
मनसुनकै कारण दक्षिण एसियामा बाढी र भूस्खलन नयाँ कुरा होइन । तर पछिल्ला दशकमा घटनाहरूको सङ्ख्या तीव्ररूपमा बढेको छ । यस वर्ष मात्र, भारतको प्रमुख कृषिक्षेत्र पञ्जाबमा वर्षा औसतभन्दा दुई-तिहाइ बढी भयो, जसले खेतीपाती ध्वस्त पारेको छ । असमय वर्षाले माटोको उर्वरता, सिँचाइको तालिका र खाद्य आपूर्ति शृङ्खलालाई प्रभावित गरिरहेको छ ।
पाकिस्तानमा यो मनसुनले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गत वर्षको तुलनामा करिब तीन गुणा हो । त्यहाँ पञ्जाब क्षेत्रका हजारौँ बासिन्दा विस्थापित भएका छन् । खराब पानीले रोग फैलाउने जोखिम बढाउँछ र लामखुट्टे जस्ता बाहकको प्रजननलाई प्रोत्साहित गर्छ । बाढीले शिक्षा, स्वास्थ्य र आजीविकामा गम्भीर असर पारेको छ ।
-थप जोखिमका कारण-
नेपालमा आधारित इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) का अनुसार हिमनदी छिटो पग्लिनु र वन विनाशले पहाडी ढलानहरूलाई कमजोर बनाउँदै घातक भूस्खलनको जोखिम बढाएको छ । त्यसमा थप, पर्याप्त वातावरणीय मूल्याङ्कनबिनै बनाइएका राजमार्ग, सुरुङ, बाँध र रेलमार्गले पहाडी भूगोललाई अझ असुरक्षित बनाएका छन् ।
“द्रुत र अनियोजित विकास, वन विनाश, नदीको प्रवाह परिवर्तन र कमजोर पूर्वाधारले ढलानलाई अस्थिर बनाउँछ र प्राकृतिक जलनिकासीलाई अवरुद्ध गर्छ”, भारतको भारती इन्स्टिच्युट अफ पब्लिक पोलिसीका विज्ञ अञ्जल प्रकाशले भन्नुभयो । जलवायु परिवर्तन, कमजोर पूर्वाधार र अव्यवस्थित विकास मिलेर दक्षिण एसियाली मनसुनलाई अझै अप्रत्याशित र विनाशकारी बनाइरहेका छन्, जसले यस क्षेत्रमा अर्बौं मानिसको जीवनरक्षा चुनौतीमा पारेको छ । रासस/एएफपी