यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), असोज ११ गते । गत सोमबार गोहीको आक्रणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका –२ राजीपुरका २५ वर्षीय विवश थारूको अवस्था अझै अज्ञात छ ।
भैँसीलाई पानी खुवाउन कर्णाली नदी छेउमा गएका थारू हालसम्म पनि फेला पर्नुभएको छैन । ६ दिनदेखि नदीमा बेपत्ता उहाँको खोजीमा दुईवटा हात्ती र मोटरबोट परिचालन गरिएको छ ।
निकुञ्जबाट दुईवटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “थारुको अवस्था हालसम्म अज्ञात रहेको छ, उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासी खटिएका छन् ।”
भैंसीलाई पानी खुवाउन गएका बेला थारुलाई गोहीले आक्रमण गरेको थियो । उनीसँगै गएका अन्य तीनजना सकुशल रहेका छन् । बर्दियाको गेरुवा, कर्णाली, बबई लगायत नदीमा गोहीको बासस्थान रहेको छ । नदीमा गोहीले आक्रमण गर्न सक्ने भन्दै नदीमा नजान निकुञ्जले आग्रह गर्दैआएको छ ।