• २१ असार २०८१, शुक्रबार

बाँकेमा असार १५ सम्म पाँच प्रतिशत मात्र रोपाइँ

blog

राप्तीसोनारी ३ मा रोपाई दिवसमा रोपाई गर्दै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार १५ गते । बाँके जिल्लामा यस वर्ष वर्षा ढिलो हुँदा १५ असार अर्थात धान दिवसका दिन बुधवारसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । सो कार्यालयका प्रमुख सागर ढकालका अनुसार गतवर्ष धान दिवसको दिनसम्म पुग्दा जिल्लामा ४५ प्रतिशत रोपाई सकिएकोमा यस वर्ष वर्षा नहुँदा हालसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो । 

जिल्लाका करिब सबै किसानको व्याड तयार रहेकाले मङ्गलवार रातीबाट ठूलो वर्षा भएकाले  अब तीव्र गतिमा रोपाइँ हुने उहाँले बताउनुभयो । गतवर्ष समयमा आकाशे पानी परेकाले किसानले धान दिवस मनाइरहँदा आधा जति रोपाइँ सम्पन्न गरिसकेकोमा यस पटक भर्खरै शुरु भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । 

केन्द्रका प्रमुख ढकालले हालसम्मको अवस्थालाई हेर्दा यस वर्ष विगतभन्दा ढिलागरी रोपाइँ सम्पन्न हुने देखिएको छ । गतवर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्विन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने आशा गरिएको केन्द्रले जनाएको छ । बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुनेगरेको छ । 

जिल्लाका अधिकांश किसानले यस वर्ष पनि राधा –४, सुख्खा –३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गर्ने तयारी गरेका छन् । 

बाँकेमा यस वर्ष राप्तीसोनारी ३ भगवतिपुरमा विविध कार्यक्रम गरेर औपचारिक रुपमा धान दिवस मनाइएको ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख ढकालले बताउनुभयो । धान दिवसको अवसरमा राप्तीसोनारी ३ भगवतीपुरमा कृषि ज्ञान केन्द्र, वाली संरक्षण प्रयोगशाला खजुरा र माटो तथा मल परीक्षण प्रयोगशाला खजुराको संयुक्त आयोजनामा सामूहिक धान रोपाइँ, हिले दौड, हिले कबड्डी र रोपाइँ प्रतियोगिता गरिएको बताउनुभयो । 

सो कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मानषिसिंह थारु रहनुभएको थियो । उक्त क्षेत्र वरिपरिका किसानहरु ठूलो सङ्ख्यामा जम्मा हुनुभएको थियो ।