• १३ असोज २०८१, आइतबार

अब मोफसलमै हवाई बिसान

blog

काठमाडौँ, असार १५ गते । मोसफलका विमानस्थलबाट हवाई सेवा लिँदा काठमाडौँमा जानकारी लिएर जहाज चढ्न विमानस्थल जानुपर्ने अवस्थाको अन्त्य भएको छ । काठमाडौँ बाहिरका विमानस्थलमा रात्रि बिसान गरेका जहाजले पहिलो उडान सुरु गरेसँगै राजधानी बाहिरका विमानस्थलबाट बिहानै यात्रु सङ्घीय राजधानी काठमाडौँ आइपुगेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्गलबारदेखि अनुमति लिएको रात्रिकालीन बिसान विमानस्थलबाटै उडान गर्न हवाई सञ्चालक कम्पनीलाई पहिलो उडान भर्नुपर्ने नियम लागू गरेसँगै पहिलो दिनमै देशका छवटा सहरबाट काठमाडौैँका लागि उडान गरेका छन् । यसअघि काठमाडौँबाट यात्रु लिएर उडेका जहाज फर्किंदा मात्रै मोफसलका यात्रु काठमाडौँ आउन सक्ने अवस्था थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार मङ्गलबार मोसफलका विमानस्थलबाट बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सले काठमाडौँका लागि पहिलो उडान गरेका छन् । “हवाई कम्पनीले बेस लिएका विमानस्थलबाट पहिलो उडान सुरु भएसंगै आम नागरिकको आवागमनमा सहज भएको छ ’ उहाँले भन्ननुभयो ।

यससँगै काठमाडौँ विमानस्थलमा हुने जहाजको भीड कम हुने र जहाज ढिलो हुने समस्या हटेर हवाई सुरक्षामा समेत सुधार हुँदै जाने उहाँले बताउनुभयो । काठमाडौँ बाहिर बेस तोकिएका विमानस्थल हाल १८ घण्टा सञ्चालनमा रहेकाले त्यहाँको पर्यटन व्यवसाय चलायमान भई हवाई कम्पनीलाई समेत पार्किङ शुल्क, नेभिगेसन शुल्क र ल्यान्डिङ शुल्कमा समेत सहुलियत हुने उहाँको भनाइ छ । 

हेलिकोप्टर (रोटर विङ्स)लाई समेत तोकिएकै बेसबाट उडान गराउन मङ्गलबार एक समितिको गठन गरी छलफल अघि बढाइएको र अबको पाँच दिनमा हेलिकप्टरलाई समेत तोकिएकै बेसबाट उडान गर्ने वातावरण तयार हुने उहाँले जानकारी दिनुभयो । 

प्राधिकरणले असार ५ गतेको निर्णय कार्यान्वयनमा जोड दिँदा बुद्ध एयरलाइन्सले सोमबार राति नै भैरहवामा दुई, जनकपुरमा एक, पोखरामा एक र नेपालगञ्जमा एक जहाजलाई रात्रि बिसानका लागि पठाएको थियो । त्यस्तै यतिले विराटनगरमा एक, नेपालगञ्जमा एक, श्रीले विराटनगरमा एक, भैरहवामा एक र नेपालगञ्जमा एक, गुणले पोखरामा एक, सौर्यले भैरहवा विमानस्थलमा एउटा विमान रात्रि बिसान गराएको थियो ।

प्राधिकरणले न्यूनतम १७ देखि अधिकतम २४ वटाभन्दा बढी जहाज पार्किङका लागि बाहिरका विमानस्थलमा जानुपर्ने नियम लागू गरेसँगै पहिलो उडानबाट काठमाडौँ आएका यात्रु दिनभरको काम सकेर बेलुकाको उडानबाट घर फर्किन पाउने भएका छन् । हाल आन्तरिक उडानतर्फ नौवटा हवाई कम्पनीका ५२ वटा जहाज उडान योग्य रहेका छन् । जसमध्ये ३५ वटा कम्पनीले उपत्यका बाहिरबाट र १७ वटा कम्पनीले काठमाडौँबाट उडान भर्ने अनुमति पाएका छन् । त्यस्तै ३८ वटा हेलिकप्टर सञ्चालनमा रहेकोमा अबको एक साताभित्र २१ वटा हेलिकप्टरले काठमाडौँ र १७ वटा हेलिकप्टरले काठमाडौँ बाहिरबाट उडान भर्नेछन् ।

डाँडा कटानको अनुमति

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कास्कीको रिट्ठेपानी डाँडामा रहेका जोखिमजन्य रुख कटान गर्न वन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिएको छ । विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने भएपछि सो डाँडा कटानका लागि विभागले सहमति दिएको हो । सहमतिअनुसार करिब छ सय रुख कटिनेछ । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर दूरीमा यो डाँडा छ । यो डाँडालाई १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्नेछ । विमानस्थलको ९७ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ ।

Author

मीनराज भण्डारी