टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज ५ गते । हिमाली ढोरपाटनका भेँडाच्याङ्ग्रा तम्घास बजार छिरेपछि दशैँ नजिकै आएको महसुस हुन्छ । बर्सेनी दशैँ नजिकिएसँगै भेँडाच्याङ्ग्रा हिमालबाट बिक्रीका लागि बजार ल्याइन्छ । बाग्लुङ बडिगाड गाउँपालिका–४ झिवाखोलाका ६४ वर्षीय चुरामणी भट्टराई ढोरपाटनबाट १३० भेँडाच्याङ्ग्रा लिएर बिक्रीमा निस्कनुभयो ।
बाटौमै खोसा–खोसा भएकाले अहिले ३५/४० वटा मात्रै छन् । उहाँ तीन वर्षदेखि भेँडाच्याङ्ग्रा बेच्न गुल्मी आउनुहुन्छ । उहाँको मुख्य पेसा कृषि हो । तर, वर्षमा चार महिना भेँडाच्याङ्ग्रा बिक्री गर्दै आउनुभएको छ । भट्टराई आफैँले भेँडाच्याङ्ग्रा पाल्नुहुँदैन । उहाँले ढोरपाटनका विभिन्न ठाउँबाट खरिद गरेका भेँडाच्याङ्ग्रा लिएर बिक्रीका लागि हिँड्ने गरेको बताउनुभयो ।
जिउँदो च्याङ्ग्राको एक हजार र भेँडाको ८ सय प्रतिकिलो बिक्री गरिरहेको भट्टराईले बताउनुभयो । उहाँले असोज, कात्तिक, मङ्सिर र जेठ महिनामा भेँडाच्याङ्ग्रा बिक्री गर्नुहुन्छ । चुरामणीले वर्षमा आठ महिना घरमै खेतीपातीको काममा गर्नुहुन्छ । अहिले दशैँतिहार खर्च जुटाउनकै लागि भेँडाच्याङ्ग्रा बिक्री गर्न हिँडेको भट्टराईले बताउनुभयो ।
रातभर खुल्ला राख्ने, जङ्गलको बाटो पनि हिँड्नु पर्ने भएकाले अनिदो बस्नुपर्ने र बाघ भालुको जोखिम हुने गरेको छ । लेकका जडिबुटी खाएर हुर्केका भएकाले भेँडाच्याङ्ग्राको बजारको माग धेरै रहेको छ । अब दुईचार दिनमा सबै सकेर फर्किएपछि कात्तिकमा च्याङ्ग्रा मात्रै लिएर आउने भट्टराईले बताउनुभयो । दाङबाट पनि तराईका भेँडा तम्घास बजार आएका छन् । व्यावसायी आलम खसापले लामो समयदेखि दशैँतिहारको बेला भेँडाको व्यापार गर्नुहुन्छ । बसभाडा, खानबस्न पनि खर्च लाग्ने र खरिदको मूल्य जोड्दा दशैँ खर्चकै मात्र जोहो हुने आलमले बताउनुभयो ।
भेँडाच्याङ्ग्रा मात्रै नभएर जुम्ली व्यापारीलाई तम्घास बजारमा जुम्लाको स्याउ बिक्री गर्न भ्याईनभ्याइँ छ । चिसो ठाउँमा फलेको स्याउ स्वादिष्ट भएका स्थानीयले निकै रुचाएका छन् ।
जुम्लाका जगतबहादुर शाही र लक्ष्मीकान्त आचार्यसहितका चार जना व्यवसायी मिलेर ५० क्वीन्टल स्याउ तम्घास बजारमा ल्याउनुभएको छ । उहाँहरुले सटर र आफैँले बोकेर बजारका गल्ली र चोकहरुमा लगेर जुम्ली स्याउ बिक्री गर्दै आउनुभएको छ । जुम्लाको अर्गानिक स्याउ खाँदा स्वादिष्ट भएकाले बजारमा उपभोक्तामा खोसाखोस छ । गतवर्ष जुम्लेली स्याउ ६० क्वीन्टल बिक्री गरेका व्यवसायीले अहिले पनि ५० क्वीन्टल ल्याएका छन् । जुम्लाको सिंजा र तिला गाउँपालिकाका विभिन्न स्थानबाट टिपेर ल्याएका विषादीरहित स्याउ भएकाले उपभोक्ताहरुले निकै रुचाएको जगत बहादुर शाहीले बताउनुभयो ।
जगत बहादुर शाही, लक्ष्मीकान्त, मनिषचन्द्र र विष्णु रुद्र आचार्य गरेर चार जना व्यवसायी मिलेर ५० क्वीन्टल स्याउ तम्घासमा ल्याउनुभएको हो । अहिले बजारमा प्रति किलो २०० देखि २५० रुपियाँमा स्याउ बिक्री भइरहेको छ ।
जुम्ला सिंजाकै ६४ वर्षीय लक्ष्मीकान्त आचार्य १५/१७ वर्षदेखि गुल्मीमा विभिन्न व्यवसाय गर्नुहुन्छ । रिडी मेलामा राडीपाखी लिएर आएपछि हावापानी र व्यवसाय राम्रो भएकाले तम्घासमा बस्दै आएको बताउने आचार्यले वर्षमा करिव तीन लाख रुपियाँसम्मको राडीपाखी बेच्नुहुन्छ । पछिल्लो दुई वर्ष जुम्लाको स्याउ तम्घास भित्र्याउनु भएका आचार्यले १५ दिन स्याउ सकिएपछि राडीपाखीकै व्यापार गर्ने गर्नुहुन्छ ।
स्याउ बजारको जस्तो आकर्षक नभए पनि खान स्वादिष्ट भएकाले पैसासँग जुम्लाको स्याउको तुलना गर्न नहुने तम्घासमा व्यावसायी कृष्ण पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो,“बाहिरबाट बजारमा आएको स्याउ विभिन्न केमिकलले चिटक्क देखिन्छ । जुम्लाको स्याउन बोटबाटै बजारमा आउने भएकाले देख्दा नराम्रो भए पनि स्वादिष्ट र विषादीसहित छ ।”
जुम्लाको स्याउको माग बढी भएपछि तम्घासकै व्यापारी गोविन्द घिमिरेले मुस्ताङ पुगेर स्याउ ल्याउन थालेपछि बजारमा मुस्ताङको स्याउ पनि पाइन थालेको छ । स्याउको फुटकर मूल्य २५० रहेको छ ।