बेइजिङ समाचारदाता
बेइजिङ, असोज ५ गते । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक शनिबार चीनको राजधानी बेइजिङमा विमोचन भएको छ ।
पुस्तकको विमोचन गर्दै चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले पुस्तकले नेपाल र चीन सम्बन्धका बारेमा गहिरो जानकारी दिने बताउँदै नेपाल र चीनका पाठकका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबिचको सम्बन्धलाई दस्ताबेजीकरण गर्न पुस्तक उपयोगी हुन सक्ने बताउँदै विभिन्न समयमा नेपाल र चीनबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणको स्मरण गर्नुभयो । उहाँले चीनले नेपालको विकासमा सहकार्य गर्दै आएकोमा धन्यवाद दिनुभयो ।
नेपाल–चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले पुस्तकले नेपाल र चीनबिचको सात दशकको कूटनीतिक सम्बन्धको गहन विश्लेषण गरेको बताउँदै पुस्तकभित्र चीन र नेपालबिच भएका द्विपक्षीय हितका कुरा, चिनियाँ सहयोगलगायतका पक्षलाई समेटिएको बताउनुभयो । कन्फ्युसियस इन्स्टिच्युटका छिउ क्वोमिङले चीन र नेपालका बारेमा जानकारी राख्न खोज्नेका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सियामन विश्वविद्यालयका प्रोफेसर चियाङ सियाओसियानले पुस्तकमा समावेश भएका विषय अनुसन्धानदाताका लागि सङ्कलनयोग्य रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । युनान अन्तर्राष्ट्रिय अर्थ, व्यापार तथा सांस्कृतिक संस्थानका उपमहासचिव रन चिकाङले चीन र नेपालबिचको ७० वर्षको इतिहासलाई एउटै पुस्तकमा चिनियाँ र नेपाली भाषामा प्रकाशन गरेकोमा प्रकाशकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा चीनका पुराना पत्रकार सुहाउले नेपाली भाषामा कविता वाचन गर्नुभयो । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चिनियाँ प्राज्ञ, चिनियाँ अधिकारीका साथै चीनमा अध्ययनरत नेपाली विद्यार्थी र पत्रकारको पनि उपस्थिति रहेको थियो । पुस्तकमा नेपाल र चीनबिच विभिन्न समयमा भएका सन्धि सम्झौतासँगै ७० वर्षको अवधिमा चीनले नेपालमा गरेको लगानीबारे चर्चा गरिएको छ । साथै नेपालको भौतिक पूर्वाधार विकासमा चीनले पु¥याएको योगदानका पक्षलाई पनि पुस्तकमा समेटिएको छ । पुस्तक नेपाली र चिनियाँ दुवै भाषामा प्रकाशित गरिएको छ ।