काठमाडौँ, असोज ५ गते । शैली साहित्य समाजले बडा दशैँको शुभकामना तथा रचना वाचन कार्यक्रमको आयोजन गरेको छ । जेनजी प्रदर्शनका क्रममा निधन हुनुभएका सम्पूर्ण नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभ कामनासहित समाजले शनिबार यस कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधुपर्क साहित्यिक मासिकका नि. सम्पादक त्रिभुवनचन्द्र वाग्लेले लेखन कार्यलाई निरन्तरता दिन लेखक तथा सर्जकहरूले धार्मिककालदेखि आजसम्म योगदान दिएको बताउनुभयो ।
रचना वाचन कार्यक्रमले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानको इतिहास लेखिनुपर्छ भन्दै प्रमुख अतिथि वाग्लेले नेपाली साहित्यको इतिहास लेख्दा विभिन्न संस्थाहरूद्वारा आयोजित रचना वाचन कार्यक्रमलाई उपेक्षा गरियो भने सो इतिहास पूर्ण नहुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा शैली साहित्य समाजका अध्यक्ष मञ्जुश्री प्रधानले साहित्यले समाजलाई सही बाटो देखाउने विचार व्यक्त गर्नुभयो ।
संस्कृतिसेवी लालबहादुर बोहराले नेपालका विभिन्न संस्कृतिको जगेर्ना गर्न लेखक, सर्जकले योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा सर्जकहरू बैरागी जेठा, लीलाराज दाहाल, भुवन सिवाकोटी, मिसन अधिकारी उषा केसी, पवन बुढाथोकी, शालीग्राम दाहाल, लव खड्का, सुशान्त केसी, रामहरि कपाली, वासुदेव ठकुरीलगायतले कविता, गीत, गजल, मुक्तक लघुकथालगायतका रचना वाचन गर्नुभयो ।