• ३ असोज २०८२, शुक्रबार

पालमुनि सर्वोच्चको इजलास

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३ गते । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको इजलास, मुद्दाका मिसिल तथा सम्पूर्ण पूर्वाधारमा क्षति पुगेपछि प्राङ्गणमा पाल टाँगेर इजलास सुरु गरिएको छ । बिहीबार दुई एकल इजलास सर्वोच्चमा पालमुनिबाट सञ्चालन गरिएका छन् । बन्दीप्रत्यक्षीकरणका दुई निवेदन सुनुवाइ भएको छ । बिहीबार दर्ता भएका दुई निवेदन असोज ४ गते हुने सर्वोच्च प्रशासनले जनाएको छ । 

बिहीबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश कुमार रेग्मीले पालमुनि सञ्चालित इजलासबाट बन्दीको निवेदन सुनुवाइ गर्नुभयो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले तत्काललाई इजलासको अर्को प्रबन्ध नभएको बताउनुभयो । कोइरालाले भन्नुभयो, “एनेक्स भवनमा इजलास सार्न हामी प्रयासरत छौँ तर केही समय अझै लाग्ने अवस्था छ । कम्तीमा दसैँअघि इजलास प्राङ्गणबाटै चलाउनुपर्ने अवस्था छ ।”

सर्वोच्चमा बिहीबार थप दुई बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता भएका छन् । दर्ता निवेदनको सुनुवाइ असोज ४ गते हुने प्रवक्ता कोइरालाले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले अदालतको भवनमा आगजनी गरेपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । अदालतमा रहेका ८० प्रतिशतसम्म मिसिल जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । मिसिलको क्षति यकिन भइसकेको छैन । अदालतले मिसिल पुनः खडा गर्नका लागि विभिन्न विकल्पबारे छलफल जारी राखेको छ । साथै मिसिल प्राप्ति र त्यसको आधिकारिताका लागि निर्देशिकाको तयारी अदालतले गरिरहेको छ । 

उच्च अदालत पाटनले असोज २१ गतेदेखि मुद्दाको नियमित सुनुवाइ गर्ने भएको छ । मुद्दा नियमित सुनुवाइसम्बन्धी सूचना जारी गर्दै अदालतले दसैँलगत्तै नियमित सुनुवाइको मिति तोकेको हो । अहिले अदालतले साप्ताहिक पेसी सूचीमा नचढ्ने र बन्दीप्रत्यक्षीकरणका निवेदन सुनुवाइ गर्दै आएको थियो । आन्दोलनका क्रममा उच्च अदालत पाटनमा कुनै पनि क्षति पुगेको छैन ।