• १ असोज २०८२, बुधबार

पहिरोले ११ परिवार विस्थापित, १२ घर जोखिममा

blog

मैवाखोला गाउँपालिका–६ फाकुम्बास्थित पहिरोको जोखिममा परेको एक घर । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने १२ घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिन यतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका साथै एक दर्जन परिवार पहिरोको जोखिममा परेका हुन् ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार वडा २ ढुङ्गेसाँघु, वडा ४ साँघु तथा वडा ५ र ६ फाकुम्बामा पहिरोले क्षति गरेको हो । पहिलोका कारण ढुङ्गेसाँघुमा दुई घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

यस्तै, वडा ४ साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा ५ मा एक घर विस्थापित र सात घर जोखिममा परेका छन् । वडा ६ मा भने पहिरोका कारण आठ घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले जानकारी दिनुभयो । गएको बुधबार वडा ६ फाकुम्बाको भित्तेमा पहिरोमा परी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको थियो ।

अध्यक्ष वनेमका अनुसार भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोले लाक्पाखाङ्डु शेर्पाको घर बगाउँदा लाक्पाखाङ्डु र छिमेकी मिङ्मालाकीको मृत्यु भएको हो । यसैगरी पहिरोले पालिकाभित्रका विभिन्न ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् । अध्यक्ष वनेमसहितको टोलीले पहिरोले क्षति पुर्‍याएको क्षेत्रको मङ्गलबार अनुगमन तथा निरीक्षण गरेको छ ।

सुरक्षा निकायका प्रतिनिधिसमेत संलग्न रहेको टोलीले अनुगमन गरेको र पीडित परिवारलाई भेट गरी धैर्य र संयम हुन आग्रह गरिएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो । यता पहिरोले क्षतिग्रस्त भएका सडकहरु तत्काल सञ्चालनमा आउने स्थिति नभएको पनि गाउँपालिकाले जनाएको छ । वर्षाको क्रम जारी रहेको र पहिरोको सम्भावना पनि कायमनै रहेकाले सुरक्षित र सतर्कता अपनाउन पालिकावासीलाई गाउँपालिकाले आग्रह गरेको छ ।