जीवछ यादव
लहान, असोज १ गते । नवपुस्ता (जेनजी) आन्दोलन र प्रदर्शनको क्रममा सिराहाका विभिन्न स्थानीय तह, सरकारी कार्यालय र राजनीति दलका नेताको घरसमेत गरी तीन दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानको अनुसार जिल्ला अदालत सिराहा, नापी कार्यालय लहान, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय लहान सिराहामा आगजनी गरी तोडफोड गरेर क्षति पुगेको छ ।
पूर्वमन्त्री तथा सिराहा–३ का सांसद लीलानाथ श्रेष्ठ मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहको गोलबजार नगरपालिकास्थित घरमा आगजनी गरेर पूर्ण क्षति पु¥याएका छन् । यसै गरी गोलबजार नगरपालिका नगरप्रमुख श्याम श्रेष्ठ, धनगडीमाई नगरपालिका प्रमुख शिव शङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष सञ्जीव लामाको निजी सम्पत्तिमासमेत क्षति पु¥याएको सूचना अधिकारी पासवानले जानकारी गराउनुभयो ।
बाह्र स्थानीय तहका ३७ वटा भौतिक संरचनामा क्षति भएको छ भने प्रहरीको आठ वटा चौकीमा तोडफोड तथा १० वटा चौकीमा आगजनी गरिएको छ । प्रहरीले प्रयोग गरिरहेको तीन वटा चार पाङ्ग्रे र छ वटा दुई पाङ्ग्रे गाडी क्षति भएको छ । प्रदर्शनमा नौ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै क्षति भएको छैन ।
लहानस्थित खाद्य व्यवस्था कम्पनी शाखा कार्यालयमा रहेको तीन हजार दुई सय क्विन्टल चिनी र आठ हजार क्विन्टल चामल गरी कार्यालयका सबै भौतिक क्षति गरेर ११ करोड रुपियाँको क्षति भएको कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिनुभयो । यसै गरी लहानस्थित घरेलु तथा साना उद्योग कार्यालय पूर्ण रूपमा क्षति भएकाले एक करोड रुपियाँभन्दा बढीको क्षति भएको कार्यालय प्रमुख किशोरी शरण यादवले जानकारी दिनुभयो । लहान नगरपालिकाको कुनै पनि शाखा सुरक्षित नभएको यस कार्यालयको दुई करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रमुख प्रशासकीय प्रमुख जयकान्त झाले जानकारी दिनुभयो । सिराहामा भएको यकिन क्षतिबारे अझै तथ्याङ्क सङ्कलन भइरहेकाले चाँडै नै जानकारी गराउने जिल्ला प्रशासन कार्यालय सिराहाले बताएको छ ।