हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज १ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा पहिलोपटक विद्युतीय सवारीसाधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । उपल्लो मुस्ताङमा पर्यटकहरूले विद्युतीय सवारीसाधनमा आउने र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमानामा रहेको कोरला नाकाबाट धमाधम विद्युतीय गाडी भित्रिन थालेपछि शारदा ग्रुपले फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
फास्ट चार्जिङ स्टेसनको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले उद्घाटन गदैं अब कोरला नाकाबाट भित्रिने विद्युतीय सवारीसाधन तथा पर्यटकलाई सहज हुने गरी ठाउँ–ठाउँमा स्टेशन राख्नुपर्ने बताउनुभयो ।
अध्यक्ष विष्टले भन्नुभयो,‘‘अब उपल्लो मुस्ताङमा आउने विद्युतीय सवारीसाधनलाई कुनै समस्या हुदैन, कोरला नाकाबाट भित्रिने नयाँ इभीलाई पनि चार्जिङको आवश्यकता पर्छ ।’’ विगतमा बेनी जोमसोम सडकखण्ड अन्तर्गरत विद्युतीय सवारीसाधन चार्जिङ सकिएपछि जोमसोममा राखेर उपल्लो मुस्ताङ जान स्थानीय सवारीसाधन भाडामा लिनुपर्ने बाध्यता थियो । एक सवारीसाधनलाई न्यूनतम आधाघण्टा लाग्छ । चार्जिङ स्टेशनमा विद्युतीय सवारीसाधनले चार्ज गरेको प्रतियुनिट १० रुपियाँ चार्ज शुल्क तोकिएको छ ।
शारदा ग्रुपले उपल्लो मुस्ताङमा थप स्टेशनका लागि तयारी भइरहेको जनाएको छ । लोमन्थाङ गाउँपालिका–१ नेचुङ भन्सारमा समेत चार्जिङ स्टेशनको तयारी भइरहेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी देखि माथि कोरला नाकासम्म कम्तिमा ५ वटा स्टेशनको आवश्यकता रहेको जनाइएको छ ।
विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारका लागि भन्सार कार्यालयले समेत पहल गरिरहेको प्रमुख रमेश खड्काले बताउनुभयो । पछिल्लो समय कोरला नाका हुँदै नेचुङ भन्सार कार्यालयमा चिनबाट बीवाइडी सहित १ सय ५१ विद्युतीय गाडी भित्रिएका छन् ।