अनिल पराजुली
हेटौँडा, असोज १ गते । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –११ स्थित सिएमसी चुरेहिल अस्पताल अगाडि स्कुटर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
हेटौँडा बजारबाट बसामाडीतर्फ जाँदै गरेको ना २६ प ४९०३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदैगरेको बा.प्र.०३–००५ प ९२६८ नम्बरको अर्को स्कुटरले पछाडिबाट ठक्कर दिँदा मङ्गलबार साँझ दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सवारी दुर्घटनामा बा.प्र.०३–००५ प ९२६८ नं. को स्कुटर चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका –११ थानाभर्याङ बस्ने २५ वर्षीय विशाल लामा, स्कुटर पछाडि सवार हेटौँडा उपमहानगरपालिका –३ बसामाडी बस्ने २३ वर्षीय विशाल गजमेर र ना २६ प ४९०३ नं. को स्कुटर चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका –३ तत्लोताल बस्ने ३१ वर्षीय शिला रिजाल, स्कुटर पछाडि सवार हेटौँडा उपमहानगरपालिका –११ शान्तिचोक बस्ने ४७ वर्षीय गौरी बर्तौला घाइते हुनुभएको हो ।
घाइतेहरूको शरीरको विभिन्न भाग, बायाँ हात, खुट्टाको पन्जा, हातको कुहिना, दाहिने खुट्टामा चोट लागेको छ । घाइतेमध्ये लामाको उपचार भइरहेको छ भने अन्य तीन जना डिस्चार्ज हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।