• १ असोज २०८२, बुधबार

बागमती प्रदेश सचिव बैठक : आन्दोलनबाट भएको क्षतिको विवरण पेस गर्न निर्देशन

blog

स्मिता अर्जेल

मकवानपुरगढी, असोज १ गते । बागमती प्रदेशमा सम्पन्न भएको सचिवहरूको बैठकले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा मन्त्रालय, निकाय तथा मातहतका कार्यालयहरूमा भएको क्षतिको विस्तृत विवरण असोज ५ गतेभित्र अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ ।

मङ्गलबार दिउँसो बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराल लगायत प्रदेशका चौध मन्त्रालयका सचिवहरूको उपस्थितिमा बसेको बैठकले ६ वटा निर्णयहरू गरेको हो । 

त्यस्तै बैठकले आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीबाट क्षति पुगेका सम्पत्ति र कागजातहरूको विवरण सुरक्षा निकायसँग समन्वय गरेर कानुनसम्मत मुचुल्का तयार गर्न र आवश्यक बिमा दाबी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, क्षतिग्रस्त मन्त्रालय तथा कार्यालयबाट सेवा प्रवाह अवरुद्ध हुन नदिई सम्भाव्य स्थानमा कार्य सञ्चालनको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । आन्दोलमा भएका क्षतिले कार्यालय सञ्चालनमा आएको अवरोधलाई मध्येनजर गर्दै न्युनतम रूपमा कार्य सञ्चालन गर्न र भवन तथा संरचनाको मर्मत, पुनर्निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ ।

प्रदेश सरकार अन्तर्गतका भवन तथा संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन, पुनर्निर्माण सम्भाव्यता र लागत अनुमानसहितको संक्षिप्त प्रतिवेदन तयार पार्न चार सदस्यीय कार्यदल गठन गरिएको छ । 

कार्यदलको संयोजकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव ईश्वरचन्द्र मरहट्ठा रहनुहुने छ भने सदस्यहरूमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी रहनुभएको छ । 

यस्तै, आन्दोलनका क्रममा क्षति वा नष्ट भएका सवारी साधनहरूको विवरण तीन दिनभित्र तोकिएको ढाँचामा उपलब्ध गराउन बैठकले निर्णय गरेको छ ।