• १ असोज २०८२, बुधबार

उपभोग्य वस्तुको मूल्य बढ्याे, स्थानीय आन्दोलित

blog

होमराज रानाभाट 

कावासोती, असोज १ गते । जेनजी आन्दोलनको कारण महँगी बढन थालेपछि स्थानीयवासीमा चिन्ता छाएको छ । जेनजी आन्दोलनले पूर्वी नवलपरासीमा बजारमा २० प्रतिशत माथि महँगी बढेको स्थानीयवासीको भनाइ छ । 

भदौ २३ गतेदेखि चलेको जेनजी आन्दोलनले बजारमा पाइने दैनिक उपभोग्य वस्तुुमा चर्को मूल्य वृद्धि हुुन थाले पछि उद्योग वाणिज्य सङ्घले समेत स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको गैंडाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक सापकोटाले बताउनुुभयो । खाने तेलदेखि नुन, तरकारीदेखि साबुन लगायत हरेक वस्तुमा मनोमानी ढङ्गले मूल्य बढेपछि बाध्य भएर चर्को मूल्यमा सामान किनेर खान परेको गैंडाकोट नगरपालिका-१५, अमरापुुरीका किसान शिवकुमारी रानाभाटले बताउनुभयो ।

दैनिक उपभोग्यका वस्तुमा भएको चर्को मूल्यले किसानहरू खान बाध्य भए पनि कहीँ कतैबाट यसको नियन्त्रण हुन नसकेको हुपसेकोट गाउँपालिकाका किसान भीमबहादुर सारु मगरले बताउनुुभयो । अहिले नजिकिएका चाडपर्वलाई लक्षित गरेर र जेनजीका आन्दोलनका कारण जथाभाबी गरिएको मूल्य वृद्धिले धेरै स्थानीय पीडित बन्दै जान थालेपछि जिल्ला अनुुगमन समितिले जिल्ला भरि रहेका पसलदेखि होटलसम्म तरकारी पसलदेखि व्यापारी सम्मका घरघरमा पुुगेर कडाईका साथ छानबिन थालेको प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले बताउनुभयो । 

पूर्वी नवलपरासीका सबै ठाउँमा व्यवसायीहरूले सामान बिक्रीका नाममा चर्को मूल्य कायम गरि बिक्री वितरण गर्न थाले पछि नागरिक स्तरमा समेत यसको छानबिन हुन थालेको देवचुली उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष धर्मराज बस्यालले बताउनुभयो ।

जिल्लामा अहिले जेनजीका नाममा भएको आन्दोलनले स्थानीय स्तरमा महँगी बढाएको छ भने महँगीको कारण उनीहरूमा नैराश्यता छाएकाले यसलाई तत्काल रोक्न पनि नागरिक स्तरबाट आवाज उठेको कावासोती नगरपालिका १ का अमरसिहँ बिकले बताउनुभयो ।

स्थानीय प्रशासनले जिल्ला भरी अनुगमन थाले सँगै महँगीमा बिक्री गर्ने जो कसैलाई पनि पक्राउ गरेर कारबाही गर्न सूचना जारी गरे पछि महँगी घटने अनुुमान गरिएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लामा २० प्रतिशत माथि महँगी बढेसँगै नजिकिएको ठुला चाडपर्वमा अझै महँगी बढ्ने भएकाले जिल्ला प्रशासनले यसलाई कडाईका साथ नियन्त्रण गर्न अघि बढ्नुपर्ने गैंडाकोट नगरपालिका ५ का नागरिक समाजका अगुवा नारायणप्रसाद गौडेलले बताउनुभयो ।

दैनिक उपभोग्यका वस्तुमा मनपरी मूल्य वृद्धि भएपछि सर्वसाधारण नागरिकको दैनिकी समेत कसरी चल्ने भन्ने अन्यौलले थप सास्ती खेप्नु परेको र यसलाई तत्काल नियन्त्रण गर्न स्थानीय प्रशासनसँग माग गरिएको मध्यविन्दु नगरपालिका-३ का सुभाषचन्द्र नेपालले बताउनुभयो ।