अर्जुन काफ्ले
स्याङ्जा, असोज १ गते । चार दिनदेखि परेको अविरल बर्षाका कारण पुतलीबजार नगरपालिका –३ चिचीकुनाका ६ घरगोठ जोखिममा परेको छ । घरनजिकै बर्षासँगैको पहिरोले यहाँका बस्तीमा जोखिम बढेको हो ।
स्थानीय ईश्वरीप्रसाद मरासिनी, भवानी मरासिनी, पिताम्बर मरासिनी, हुमाबती दोरङ्गा, भवानीदत्त दोरङ्गाा र नवीन दोरङ्गाका घर तथा गोठहरु बस्न जोखिममा परेका हुन् । पानी पर्नेक्रम जारी रहेको जनाउँदै तत्काल सो बस्तीमा नबस्न सुझाव दिँदै नगरपालिकाले अस्थायी बाससहित आवश्यक सहयोग गर्ने जनाएको छ ।
एउटा बस्ती नै जोखिममा देखिएको जनाउँदै भूगर्भबिद् बोलाएर जमिन परीक्षण गरेर मात्र बस्न उपयुक्त छ वा छैन एकिन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताउनुभयो ।
विपद ब्यवस्थापन समितिको बैठकले भूगर्भविद झिमाई जमिनको जाँचबुझ गर्ने निर्णय गर्ने जिल्लास्तरीय विपद ब्यवस्थापन समितिका संयोजक अर्यालले बताउनुभयो । तत्कालका लागि आफन्त तथा नजिकका सुरक्षित स्थान खोजेर बस्न सुझाब दिएको अर्यालले बताउनुभयो ।
सबै घरमा भैंसीपालन गर्दै आइएको छ भने भैसी, बाख्रालगायतका बस्तुभाउ र अन्नपात समेत रहेकाले तत्काल घर छाडेर निस्कन समस्या रहेको पहिरो पीडितको भनाइए रहेको छ । यस्तै, बर्षाले पहिरोजाँदा राङखोला बिरुवा सडक अबरुद्ध भएको छ भने कोल्मा काउले सडक समेत अबरुद्ध रहेको छ ।