• १ असोज २०८२, बुधबार

जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

blog

नयाँदिल्ली, असोज १ गते । भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्तालाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ ।

तर खेलाडीको भनाइमा शर्त लगाउन अडिग मानिसले विदेशी र अनियमित वेबसाइटतर्फ जाने बाटो फेला पारिरहेका छन् । यद्यपि नगदका लागि नभई पुरस्कारका लागि काल्पनिक खेल अनुप्रयोगका प्रशंसक अझै पनि खेलिरहेका छन् । काल्पनिक खेल खेल्ने विज्ञापन व्यवसायी आदर्श शर्माले भारतीय जुवाडेले वैकल्पिक बाटो खोज्दा अपतटीय साइटमा ‘अचानक उछाल आउने’ दाबी गर्नुभयो ।

“एक पटक बनेको बानी सजिलै छोडिँदैन”, उहाँले भन्नुभयो, “यो लत हो र मानिसले जुवाको बाटो फेला पार्छन् ।” गत महिना भारतीय संसदले अनलाइन जुवामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । सरकारी तथ्याङ्कअनुसार कम्पनीले ४५ करोड मिलियन मानिसबाट वार्षिक दुई अर्ब ३० करोड डलर उठाइरहेका थिए ।

अधिकारीहरूका अनुसार प्लेटफर्मको तीव्र विस्तारले आर्थिक सङ्कट, लत, आत्महत्या, धोखाधडी, मनी लन्ड्रिङ र आतङ्कवादलाई वित्त पोषणसम्म निम्त्याएको छ । कानुनलाई शीर्ष अनलाइन कार्ड गेम प्लेटफर्मले अदालतमा चुनौती दिएको छ । नयाँ कानुनअनुसार कार्ड गेम र काल्पनिक खेल वेबसाइट तथा एप-भारतमा लोकप्रिय काल्पनिक क्रिकेटसहित-प्रतिबन्धित छन् । 

अपराधीलाई पाँच वर्षसम्म जेल सजाय हुने प्रावधान छ । जुवाडेले अब भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) र प्रोक्सी क्रेडिट कार्डमार्फत विदेशी साइटमा पुग्नुपर्ने छ । यो सामान्य प्रयोगकर्ताका लागि कठिन भए पनि खेलाडी यसबारे जानकार छन् । एक प्रशंसकले नाम नखुलाउने सर्तमा भने, “हामीले यो पहिले पनि गरेका थियौँ, फेरि गर्ने छौंँ  पुराना तरिकामा फर्किन्छौँ ।”

-क्रिकेटको प्रेम-

प्रविधिमन्त्री अश्विनी वैष्णवका अनुसार, नयाँ कानुनले कानुनी इस्पोट्र्सलाई सुरक्षित राख्दै प्रयोगकर्तालाई झुटो नाफाको वाचा गरेर शोषण गर्ने सट्टेबाजी, जुवा र काल्पनिक नगद खेललाई मात्र लक्षित गरेको हो ।

विश्वकै सबैभन्दा ठुलो काल्पनिक खेल प्लेटफर्म ‘ड्रिम ११८’ (२६ करोड प्रयोगकर्ता) ले ‘नगद खेल बन्द गरिएको’ घोषणा गर्दै अब कार, फोन, फ्रिज जस्ता पुरस्कार दिने बताएको छ । यसले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँगको चार करोड ३० लाख डलरको सम्झौता पनि तोडेको छ, जसले भारतीय खेलाडीको जर्सीबाट यसको लोगो हटाएको छ ।

दिल्लीका कसाई जमशेद नूरले आफूले पाएको ठुलो जित श्रमिकको दैनिक ज्याला छ सय रुपियाँ (करिब सात ७ डलर) भएको बताउनुभयो । “हामी क्रिकेटको प्रेमका लागि खेल्छौँ”, उहाँले भन्नुभयो, “पैसा आकर्षण थियो, तर अब नगद नभए पनि म खेलिरहन्छु ।” यस प्रतिबन्धले इन्डियन प्रिमियर लिग (आइपिएल) जस्ता आकर्षक प्रतियोगितासहित समग्र खेल उद्योगलाई झट्का दिने देखिन्छ ।

एलारा क्यापिटलका करण तौरानीका अनुसार फ्यान्टसी प्लेटफर्महरू आइपिएल र विश्व क्रिकेटका सबैभन्दा आक्रामक विज्ञापन दातामध्ये पर्छन्, अब उनीहरूले विदेशी बजारतर्फ मोडिन सक्छन् । डि एन्ड पी एडभाइजरीका सन्तोष एनले यस वर्ष आइपिएल प्रसारण विज्ञापन आम्दानीको ४० प्रतिशतसम्म फ्यान्टसी स्पोट्र्स र क्रिप्टो प्लेटफर्मले ओगटेको अनुमान गर्नुभयो । 

उहाँका अनुसार प्रतिबन्धपछि उनीहरूको व्यापार मोडेल जोखिममा परेको वा नष्ट भएको छ, जसले विज्ञापन खर्च कटौती गराउने छ । यसले प्रत्यक्षरूपमा प्रसारणकर्ताको आम्दानी घटाउने छ । “सन् २०२७ मा जब बिसिसिआईले मिडिया अधिकार नवीकरण गर्छ, प्रसारणकर्ताले पहिले जस्तो ठुलो रकम तिर्न नसक्ने भएकाले नवीकरण प्रिमियम कम हुने छ”, सन्तोषले चेतावनी दिनुभयो । रासस/एएफपी