कोलम्बो, असोज १ गते । श्रीलङ्काले आफ्ना नदी र तालमा हुने असर रोक्न चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने भएको छ । मत्स्यमन्त्री रामलिङ्गम चन्द्रशेखरले बुधबार भन्नुभयो , “हामी हाम्रो जलाशयलाई विदेशी प्रजातिबाट जोगाउन चाहन्छौँ । यो निर्णय स्थानीय माछा मार्ने समुदायको जीविकोपार्जन जोगाउनका लागि पनि हो ।”
शनिबारदेखि रेडलाइन स्नेकहेड, नाइफ फिश, एलीगेटर गार र पिरान्हा माछाको आयात, बिक्री र यातायातमा पूर्ण प्रतिबन्ध लाग्ने छ । यी माछा मुख्यरूपमा दक्षिणपूर्वी एसियाबाट ल्याइएका हुन् । स्नेकहेड माछा उत्तरपश्चिमी श्रीलङ्काको डेदुरु ओया तालमा देखिएको छ, जहाँ यसले स्थानीय जैविक सन्तुलनमा असर पुर्याएको छ । ती माछा पाल्न नसकेका व्यक्तिहरूले तालमा छाडेका हुन सक्ने आशङ्का गरिन्छ ।
सरकारले शनिबार स्नेकहेड माछा समात्ने प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । स्थानीय मानिस यस्ता माछा साना माछा र अन्य जलचरहरू खाएर वातावरणमा असन्तुलन ल्याइरहेका बताएका छन् । सरकारले यस्ता माछा घरमा पालिरहेका व्यक्तिलाई सम्बन्धित निकायमा जानकारी गराई ती माछा सरकारी एक्वेरियममा बुझाउन अनुरोध गरेको छ । रासस/एएफपी