सन्तोष दहित
दाङ, भदौ ३१ गते । जेनजी प्रदर्शनका क्रममा घोराही उपमहानगरपालिकामा तोडफोड र आगजनी गरेपछि अवरुद्ध भएको सेवा पुनः सुचारु भएको छ । नगरप्रमुख नरुलाल चौधरीले कार्यालय परिसरमा टेबुल र कुर्सी राखेर नागरिकलाई सेवा दिन सुरु गर्नुभएको हो ।
भदौ २४ गते भएको आगजनीमा कार्यालयका सम्पूर्ण कागजात, उपकरण र सामग्री जलेर नष्ट भएका थिए । यस घटनापछि नागरिकले पाउने सेवा ठप्प हुनका साथै जनताको दैनिक कामकाजमा समेत समस्या सिर्जना गरेको थियो ।
नगरप्रमुख चौधरीले घटनाको तत्कालीन अवस्था मूल्याङ्कन गर्दै नागरिकलाई सेवा निरन्तर पुर्याउन आवश्यक ठानेर सेवा पुनः सुचारु गर्नुभएको हो । “जलेर खरानी भएको कार्यालय परिसरमा अस्थायी रूपमा कुर्सी र टेबुल राखेर सेवा दिन सुरु गरिएको छ,’ ’उहाँले भन्नुभयो, ‘‘आगजनी र तोडफोडबाट उत्पन्न समस्याहरुलाई तत्काल मर्मत गर्दै सेवा निरन्तरता सुनिश्चित गर्न अनुरोध गर्दछु ।’’
उहाँले थप्दै भन्नुभयो, “कार्यालय जलेपनि नागरिकले पाउने सेवामा कुनै अवरोध नआओस् भन्ने हाम्रो प्राथमिकता हो । हाम्रो मुख्य लक्ष्य भनेको जनतालाई सेवा प्रवाह गर्नु हो ।”
घोराही उपमहानगरपालिकाले सम्पूर्ण वडाहरुलाई पनि आवश्यक निर्देशन दिँदै सेवामा सुधार र सहजीकरणका उपाय अपनाउन उहाँले अनुरोध गर्नुभयो । यसैबिच घोराहीका वडा कार्यालयहरु पनि कार्यालय परिसर बाहिर टेबुल, कुर्सी राखेर सेवा प्रवाह सुरु गरेका छन् । कार्यालयका कर्मचारी परिचालन गरी नागरिकले कार्यालयमा पाउने सेवा सुचारु गरिएको छ । साथै, कार्यालयका नष्ट भएका कागजात, फर्निचर र उपकरणको मर्मत तथा पुनःस्थापना गर्न आवश्यक तयारी पनि सुरु गरिएको छ ।
स्थानीय नागरिक र सेवा प्रयोगकर्ताहरुले तत्काल सेवा सुचारु भएकोमा खुशी व्यक्त गरेका छन् । ‘‘आगजनीका कारण केही दिन सेवा ठप्प भएको थियो ।,’’ घोराही १५ का अनिल चौधरीले भन्नुभयो, ‘‘तर अब पुनः सेवा सुरु भएको छ, जुन हाम्रो लागि राहतको विषय हो ।”