हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), भदौ ३१ गते । सुख्खा पहिरोका कारण तीन दिनदेखि अवरुद्ध गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४मा पर्ने काभ्रेभीरमा सडकमाथिबाट ठुलाठुला ढुङ्गा खसेपछि शनिबार रातिदेखि बन्द भएको सडक डोजरले पन्छाउन नसकेपछि सोमबार नेपाली सेनाको इन्द्रबक्स गणले ब्लास्टिङ गरेर सडक खुलाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो ।
प्रजिअ भुषालले भन्नुभयो, ‘‘मध्यरातमा सिधा सञ्चलनमा आएको छ, अब मुस्ताङमा रोकिएका पर्यटकसहित सामान ढुवानीमा सहज भएको छ ।’’ प्रजिअ भुषालका अनुसार नेपाली सेनाले ठुला ढुङ्गा हटाउन तीन पटकसम्म ब्लास्टिङ गरेको थियो ।
उक्त क्षेत्रका पटकपटक विस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार तथा मर्मत गरिएकाले समेत पहाडबाट समान्य वर्षामा पनि चट्टानसहित पहिरो खस्ने गरेको छ । सडक अवरुद्ध भएपछि उत्तरी म्याग्दी हुँदै मुस्ताङ जाने र मुस्ताङबाट फर्किने स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनका साथै स्याउसहित कृषि उपजका बस्तु, भेडाच्याङ्ग्रा ढुवानीका लागि गएका ट्रक समेत बाटोमै रोकिएको थियो ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको सडक खण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण मुस्ताङको थासाङ गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्र मानिन्छ । भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटकै कारण बाढीपहिरोले अवरुद्ध हुने गरेको छ । बर्खाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।