• ३१ भदौ २०८२, मङ्गलबार

‘आगजनी र तोडफोडबाट अपूरणीय क्षति’

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पत्रकार सम्मेलनमा । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता 

सुर्खेत, भदौ ३१ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी समूहको भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भएको आन्दोलनमा अन्य पक्षको घुसपैठका कारण ठुलो क्षति पुर्‍याएको बताउनुभएको छ । देशको पछिल्लो घटनाक्रमबारे जानकारी दिन आइतबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले भन्नुभयो, “भदौ २३ र २४ गते दुई दिनमा देशमा अपूरणीय क्षति पुग्यो ।” उहाँले जेनजीले उठाएका माग उपयुक्त भएको भन्दै तर आन्दोलनका नाममा अरू तत्वले वितण्डा मच्चाएर क्षति पुर्‍याउने काम गरेको उल्लेख गर्नुभयो । विगतमा पनि राजनीतिक दलले धेरै आन्दोलन गरेको स्मरण गर्दै उहाँले तर यसरी सार्वजनिक सम्पत्ति, निजी सम्पत्तिमा आगजनी गर्ने, तोडफोड गर्ने, लुटपाट गर्ने काम नभएको तर यस पटक भने अराजक शैलीमा भएको भन्दै निन्दा गर्नुभयो । 

मुख्यमन्त्री कँडेलले अब पुनः नयाँ सोच र उद्देश्यका साथ उठ्नुपर्ने जिम्मेवारी आएको बताउनुभयो । सुर्खेतमा सबैभन्दा धेरै क्षति कर्णाली प्रदेश सभा भवन, प्रदेश लेखा नियन्त्रक कार्यालय, मुख्यमन्त्रीको सरकारी निवासमा भएको र अन्य कार्यालयमा पनि क्षति पुगेको आफूले अनुगमनका क्रममा देखेको जनाउनुभयो । आन्दोलनका नाममा भएको क्षतिबारे आफूले दुई दिन लगाएर अनुगमन गरेको र यसको यकिन क्षतिबारे जिल्ला प्रशासन र प्रदेश समितिको छानबिन टोली संयुक्त रूपमा काम गरेर वास्तविक क्षतिको तथ्याङ्क निकाल्ने उहाँको भनाइ छ । मुख्यमन्त्री कँडेलले जनतालाई सहज रूपमा सेवा प्रदान गर्न कर्मचारी प्रशासनलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, “निराशाबाट आशा बोकेर उठ्नुपर्ने बेला आएको छ, दलहरू पुनर्सङ्गठित भएर अगाडि बढ्नुपर्ने बेला आएको छ ।” 

अहिले अपूरणीय क्षति भएकाले आगजनी, लुटपाट र तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँले भनाइ छ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ ।