• ३० भदौ २०८२, सोमबार

ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

blog

लन्डन, भदौ ३० गते । विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडा अभ्यास गर्दै छन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् ।  

लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदाभरि सयौँ मानिसहरूले राजा चाल्र्स तृतीयले यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा स्वागत गर्न सम्भव भएसम्म उत्तम प्रदर्शन गर्न सुनिश्चित गर्न काम गरिरहनु भएको छ । यो भ्रमण, चम्किलो मुकुट, ब्रास ब्यान्ड र दुई सय वर्ष पुरानो चाँदीमा पस्किने भोजसहित बेलायतले विशेष पाहुनालाई दिने बेलायतमा अन्य कतै नभएको भव्यता र समारोहको प्रदर्शन हो । 

तर यसको उद्देश्य स्पष्ट छ-ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिका कारण कमजोर भएको व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउनु । शाही इतिहासकार रोबर्ट लेसी भन्नुहुन्छ, “यदि ट्रम्पले विन्डसर क्यासलमा बस्ने मौका पाउनुभएन भने उहाँ आउनुहुन्न, बरु स्वर्गीय महारानीलाई श्रद्धाञ्जली दिन र राजालाई भेट्न चाहनुहुन्छ ।”

-सफ्ट पावरको प्रयोग-

राजनीतिक शक्ति त्यागेर औपचारिक भूमिकामा सीमित भए पनि शाही परिवार ‘सफ्ट पावर’ को शक्तिशाली साधन बनेको छ । राजकीय भ्रमण शाही कूटनीतिको सर्वोच्च औजार हो, जसका लागि विश्व नेता प्रतिस्पर्धा गर्छन् । स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले सात दशक लामो शासनमा तानाशाहदेखि नेल्सन मन्डेलासम्मलाई आतिथ्य दिनुभएको थियो । 

पछिल्ला चार अमेरिकी राष्ट्रपति पनि शाही आतिथ्यको हिस्सा भएका छन् । न्युक्यासल विश्वविद्यालयका विज्ञ मार्टिन फारका अनुसार यस्ता आतिथ्यले मित्रताको भावना जगाउँछ, जसले ‘अनुरोधलाई सजिलै स्वीकार गर्ने वातावरण’ बनाउँछ । यस पटक बेलायत अनुकुल व्यापार सर्त र युक्रेनबारे सहयोग खोजिरहेको छ ।

त्यसैले प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पाँच सातापछि वासिङ्टन पुगेर राजकीय निमन्त्रणा दिनु भएको थियो । विश्व नेतामध्ये पहिलो पटक ट्रम्पले दोस्रो राजकीय भ्रमण पाउनुभएको हो र यस पटक निमन्त्रणा राजाको व्यक्तिगत पत्रमार्फत आएको थियो ।

-उद्देश्यसहित आतिथ्य सत्कार-

मङ्गलबार राति ट्रम्प र मेलानिया बेलायत पुग्नु हुने छ । बुधबार राजा चाल्र्स र रानी क्यामिलाले उहाँहरूलाई विन्डसर एस्टेटमा स्वागत गर्नुहुने छ । गार्ड अफ अनर, सैन्य ब्यान्ड र दुवै देशका राष्ट्रिय गान बजाइने छन् । सैन्य अभ्यास महिनौँ अगाडि सुरु भइसकेको छ । सयौँ सैनिक, माउन्टेड गार्ड, फुट गार्ड र सङ्गीतकारले कार्यक्रमलाई भव्य बनाउने छन् । 

कार्यक्रमपछि ट्रम्पले बेलायत-अमेरिकाको साझा इतिहास झल्काउने प्रदर्शनी हेर्नु हुने छ, जसमा म्याग्ना कार्टाजस्ता ऐतिहासिक कागजात देखाइने सम्भावना छ । मुख्य आकर्षण भने बुधबार रातिको राजकीय भोज हुने छ । पुरुषले सेतो टाई र पुच्छर कोट लगाउने छन्, महिलाले गाउन र गहना । प्राचीन क्यान्डेलाब्राको उज्यालोमा मुकुट चम्किने छन् ।

-विशाल भोज र कूटनीतिक सन्देश-

राजा र रानीले पाहुनालाई वाटरलू टेबलमा भोज दिनु हुने छ । टेबलको लम्बाइ फुटबल मैदानको आधा बराबर छ र एक सय ६० पाहुनाका लागि ठाउँ छ । यो टेबल सजाउन पाँच दिन लाग्छ र चार हजारभन्दा बढी चाँदी-सुनका भाँडाकुँडाले सजाइने छ । शाही जीवनीकार ह्युगो विकर्स भन्नुहुन्छ, “चाँदी र समारोहले मेलमिलापको बाटो खोल्छ, जुन एलिजाबेथको विश्वास थियो ।”

उहाँका अनुसार प्रधानमन्त्री स्टार्मरले राजाको माध्यमबाट ट्रम्पलाई आकर्षित गर्नु भएको छ र यसै मार्फत युक्रेनलगायत संवेदनशील मुद्दामा सकारात्मक छलफल सम्भव हुने छ । मुख्य छलफल बिहीबार चेकर्समा हुने छ, जहाँ ट्रम्प र स्टार्मरबिच भेट हुने छ । रासस/एपी