अमरराज नहर्की
तनहुँ, भदौ ३० गते । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय तनहुँ छिट्टै सञ्चालनमा आउने तयारीमा छ । प्रशासनिक सेवा प्रभावित नहोस् र जनतालाई ढिला नगरी सेवा दिइयोस् भन्ने उद्देश्यले कार्यालयका भग्नावशेष हटाउने काम तीव्र गतिमा भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामकृष्ण अधिकारीका अनुसार, व्यास नगरपालिका–५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गण (इ), भानु नगरपालिका–२ नारेश्वटारस्थित सशस्त्र प्रहरी बल मनकामना गण र जिल्ला प्रहरी कार्यालय तनहुँका सुरक्षाकर्मीहरूको सक्रियतामा क्षतिग्रस्त सामग्री हटाउने कार्य भइरहेको छ । कार्यालयभित्रका कागजात, फर्निचर, विद्युत उपकरण लगायतका जलेर खरानी भएका छन् । भवनका पिल्लर र भित्ताहरू भने काम लाग्न सक्ने देखिएकाले इन्जिनियरमार्फत परीक्षणपछि पुनः प्रयोगका लागि निर्णय लिइने तयारी भइरहेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
प्रजिअ अधिकारीले भन्नुभयो, “जनताको काम ढिलाइ हुन नदिन हामी तत्काल वैकल्पिक व्यवस्थाबाट पनि सेवा दिन थाल्नेछौँ ।’’ पूर्णरूपमा कार्यालय सञ्चालन गर्न भने भवन र संरचनाको प्राविधिक परीक्षणपछि पुनर्निर्माण प्रक्रिया अघि बढाइनेछ उहाँले जानकारी दिनुभयो ।
कालीभञ्जन गणका प्रमुख सेनानी वसन्त कार्कीले सङ्कटको बेला जनता असहज नहोस् भनेर हामी निरन्तर खटिरहेको जानकारी दिनुभयो । कार्कीका अनुसार आइतबार एक सय जना खटाइयो र आवश्यक अनुसार सोमबार पनि खटाइनेछ । कार्कीले भन्नुभयो, ‘‘कार्यालय चाँडै सञ्चालनमा आउन सकोस् भनेर सेनाले योगदान दिएको छ, यसलाई केवल जिम्मेवारी नभई राष्ट्रप्रतिको कर्तव्यको रूपमा लिएका छौँ ।” आगजनीबाट प्रजिअ निवास समेत ध्वस्त भएको छ । प्रजिअ अधिकारीले भन्नुभयो, ‘‘एकै तिनमा तीन ट्रक भन्दा बढी भग्नावशेष फालियो, घर पोले खरानीको के दुःख भने जस्तो भएको छ ।’’