चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ३० गते । जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ । आन्दोलनको अवस्था सामान्य भएसँगै गएको बुधबारदेखि बन्द रहेको जिल्ला अदालतको सेवा प्रवाह नियमित हुने भएको हो ।
ताप्लेजुङ जिल्ला अदालतका स्रेष्तेदार शम्मी कपुर शाहलेसोमबारदेखि अदालतको सेवा नियमित हुने उल्लेख गर्दै आइतबार सूचना प्रकाशित गर्नुभएको थियो । स्रेस्तेदार शाहका अनुसार मुद्दाको सुनुवाइसहित जिल्ला अदालतबाट प्रवाह हुने सबैखाले सेवा सुरु हुने भएको छ ।
यसअघि बन्दी प्रत्यक्षीकरणको निवेदन, थुनछेक र म्याद थपबाहेकका सेवा बन्द गरिएको थियो । जेनजी आन्दोलनका कारण सेवा प्रवाह बन्द गर्दा सेवाग्राहीमा परेको असुविधालाई दृष्टिगत गरी आगामी ३० दिनभित्र उपस्थित भएमा पेशी र तारेखको समय नगुज्रिने पनि सूचनामा उल्लेख गरिएको छ ।