• ३० भदौ २०८२, सोमबार

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ ३० गते । सार्वजनिक यातायातमा सुरक्षित र सहज यात्रा बनाउन तथा तत्काल गुनासो सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने भएको छ । जेनजी आन्दोलनपछिको अन्योलपूर्ण अवस्था र दसैँलगायतका चाडपर्वलक्षित गरी सार्वजनिक यातायात व्यवस्थित रूपमा सञ्चालन गर्न समिति गठन गरिने भएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको नेतृत्वमा यातायात व्यवसायी र सरोकारवाला निकायको आइतबार बसेको बैठकले विभिन्न छबुँदे निर्णय गरेको हो । बैठकले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन हुने समितिले चाडपर्वका लागि उपत्यका छाड्ने सवारीसाधनको प्राविधिक जाँच गराउन र आवश्यकता अनुसार यात्रु सहायता कक्ष निर्माण गर्न सहजीकरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ । समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखाका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षलगायतका सरोकारवाला हुने छन् ।

साथै बैठकले जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने पनि निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । यस्तै ट्राफिक प्रहरीका लागि अत्यावश्यक सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्लगायतबाट उपलब्ध गराइने भएको छ । आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायतका सामग्री सवारीसाधनमा ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय पनि भएको छ । 

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा भने निर्णय हुन सकेको छैन । यसबारे सोमबार यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल भएपछि टिकट खुला गर्ने मिति तय हुने अध्यक्ष स्वाँरले जानकारी दिनुभयो तर हाललाई जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकामा रोकिएका यात्रुलाई गन्तव्यमा पु¥याउने काम गरिने भएको छ । उहाँले भन्नुभयो, “पहिलो प्राथमिकता यो एक साता काठमाडौँमा रोकिएका यात्रुलाई सुरक्षित रूपमा पु¥याउने र त्यसपछि अग्रिम टिकट बुकिङ खुलाउने कुरा भएको छ ।”

व्यवसायीद्वारा सुरक्षाको माग 

बसपार्कमा असुरक्षा बढेको भन्दै यातायात व्यवसायीले सुरक्षाको माग गरेका छन् । आइतबार व्यवसायीले बसपार्क अनुगमन गरी असुरक्षा बढेको निष्कर्ष निकालेका हुन् । प्रहरी पोस्ट जलेको, बसपार्कसँगै जोडिएको लोत्से महल आगलागीमा ध्वस्त भएको र प्रहरीको उपस्थिति प्रभावकारी हुन नसकेको भन्दै सेनाबाटै सुरक्षा दिनुपर्ने व्यवसायीको माग छ । 

अध्यक्ष स्वाँरले भन्नुभयो, “बसपार्कमा असुरक्षा बढेको हामीले पाएका छौँ । अब मान्छेको भिड बढ्दै छ । मान्छेमा अझै पनि आवेग छ । दसैँका अवसरमा बसमै लुटपाट हुने खतरा बढेको छ । विगतमा यस्ता घटना नभएका होइनन् । डकैती, लुटपाट र दादागिरी हुन सक्ने सम्भावना देखिएकाले बसपार्कमा सुरक्षा अत्यन्त जरुरी छ ।” आइतबार भने सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएको महासङ्घले जनाएको छ ।