रामकृष्ण बोहरा
बागलुङ, भदौ ३० गते । पश्चिम बागलुङ हुँदै बग्ने बडिगाड खोलामा भइरहेको अवैध दोहन रोक्न गाउँपालिकाले बेवास्ता गरेको भन्दै स्थानीय युवाहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जनप्रतिनिधिकै संरक्षणमा दोहन भइरहेको स्थानीयको आरोप छ ।
बडिगाड गाउँपालिका– ५ ग्वालीचौरका प्रदिप खरेलले खोलाबाट मध्यरातमा एक्जाभेटर प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पनि अवैध दोहन रोक्ने र त्यसमा संलग्नलाई कारबाही गर्न बेवास्ता गरेको भन्दै छलफलका लागि पुगेका आक्रोशित युवाहरुले पालिकामा तालाबन्दी गरेका हुन् ।
‘‘अवैध दोहनको विषय सामाजिक संजालमा उठेपछि हामी भदौ २४ गते छलफलका लागि पालिका जाने तयारीमा थियौं’’ बडिगाड गाउँपालिका– २ खर्वाङका स्थानीय सुनिल कार्कीले भन्नुभयो, ‘‘जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको र देश नै सेनाको सुरक्षामा रहेको बेला सुरक्षाकर्मीकै सल्लाहले हामी फर्किएका थियौं । पालिकाका सेवा सूचारु हुँदासमेत अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकिय अधिकृत अनुपस्थित भएपछि तालाबन्दी गरेका हौं ।’’
‘‘नदीजन्य सामग्रीको अवैध उत्खनन् गरेको भिडियो सार्वजनिक भइसकेको पनि एक हप्ता हुन लाग्यो । पालिकाबाट न कुनै प्रतिक्रिया आयो न छानवीन भई कारबाही प्रक्रिया अघि बढ्यो । छलफलका लागि पालिकामा पुग्दा समेत जनप्रतिनिधिले बेवास्ता गरे’’ कार्कीले भन्नुभयो, ‘‘जनप्रतिनिधिको व्यवहारले अवैध उत्खननमा मिलेमतो भएको पुष्टि गर्छ ।’’
गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत चण्डीराज पौडेलले भने अवैध नदीजन्य सामग्री उत्खनन् गर्नेलाई कानुनी कारबाही दायरामा ल्याउने आश्वासन दिनुभएको छ । ‘‘अहिले पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृत मौखिक जानकारी गराएर बिदामा हुनुहुन्छ, सबैको रोहोबरमा पालिकाले छलफल गरी निकास निकाल्छ’’ पौडेलले भन्नुभयो ।
असोज ३ गते पालिका अध्यक्षको निर्देशनले निमित्ति प्रशासकिय अधिकृतले छलफलको लागि बोलाए पनि विषय साम्य पार्न जोखिएको र सार्वजनिक बिदाको दिन छलफलमा बोलाएकाले मान्य नहुने भन्दै युवाहरुले पालिकामा ताला लगाएका हुन् । उनीहरुले तत्काल सर्वदलिय, सर्वपक्षिय भेलाबाट बडिगाड खोलामा भइरहेको अवैध दोहन रोक्न आग्रह गर्दै दोषीलाई कार्वाही नगरे थप आन्दोलनमा उत्रने चेतावनी समेत दिए छन् ।
सार्वजनिक रुपमै विरोध भइरहदा पनि गाउँपालिकाले अवैध दोहन भइरहेको क्षेत्र र सङ्कलन गरिएको क्षेत्रमा अनुगमन नगरेको युवाहरुको भनाइ छ । प्रदिप खरेलको समूहले विगतमा पनि नदीजन्य सामग्री उत्खनन् गरी बेच्ने गरेको उनीहरुले आरोप लगाएका छन् ।