काठमाडौँ, भदौ ३० गते । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले मुख्य भवनसहितका भौतिक संरचनामा आगजनी गरेपछि सर्वोच्च अदालतले पालमुनिबाट आंशिक सेवा सुरु गरेको छ । कोभिड–१९ को समयमा म्याद, हदम्यादलगायतका मुद्दामा निकासका लागि १९ न्यायाधीशको इजलास पालमुनि गठन भएको थियो । करिब पाँच वर्षपछि प्रदर्शनकारीको निसानामा भवन पूर्ण रूपमा आगजनी भएपछि सर्वोच्च पुनः केही समयका लागि पालमुनि पुगेको हो ।
तत्काललाई बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक निवेदन दर्ता सुनुवाइ सर्वोच्चले गर्ने सर्वोच्चका प्रवक्ता अच्युत कोइरालाले बताउनुभयो । प्रवक्ता कोइरालाले भन्नुभयो, “बन्दीप्रत्यक्षीकरण निवेदन र अत्यावश्यक निवेदनको सुनुवाइको काम हामीले सुरु गरेका छौँ । यस्तै क्षति भएका मिसिल कसरी पुनर्भरण (रिभाइभ) गर्न सकिन्छ भनेर हामी योजनामै छौँ तर यकिन भइसकेको छैन । मुस्किलले १०–१५ प्रतिशत मिसिल सुरक्षित छन् । भवन, सवारीसाधन, अन्य स्रोतसाधनको क्षतिबारे हामी यकिन गर्ने क्रममा छौँ ।”
अत्यावश्यक सेवाभित्र वर्तमान राजनीतिक परिस्थितिजन्य निवेदनलगायत पर्ने छन् । सर्वोच्च प्राङ्गणमा पालमुनिबाट सेवा सुरु भएपछि आइतबार सेवाग्राहीको भिड नै लागेको थियो । म्याद (तारिख) लिनेको भिड लागेपछि सर्वोच्च प्रशासनले अदालत नियमित सुरु भएको ३० दिनसम्म म्याद, हदम्याद र तारेखको सुविधा लिन पाउने भन्दै सेवाग्राहीलाई सूचित गरेको छ । अदालत प्रशासनले नियमित अदालत सुरु भएको सूचना जारी गरेपछि मात्र ३० दिनको म्याद सुरु हुने छ ।
मुख्य रजिस्ट्रार विमल पौडेलद्वारा जारी सूचनामा भनिएको छ, “आगजनी, तोडफोड एवं लुटपाटका कारण सेवा प्रवाहका पूर्वाधार तथा सूचना प्रविधि प्रणालीमा भएको गम्भीर क्षतिसमेतका कारण हाललाई बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह गर्न नसकिने अवस्था सिर्जना भएको हुँदा यही भदौ २६ मा जारी सूचनाबमोजिम अदालत नियमित रूपमा सञ्चालन भएको मितिले ३० दिनसम्म म्याद, हदम्याद, तारेख थाम्न सकिने बेहोरा स्पष्ट पार्दै बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाहका हकमा यस अदालतबाट नियमित रूपमा सेवा प्रवाह गर्नेसम्बन्धी सूचना जारी भएपछि मात्र उल्लिखित म्यादभित्र सम्पर्कमा आउनुहुन मुद्दाको पक्षलगायत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।”
५१ सवारीसाधन ध्वस्त
आगजनीमा सर्वोच्चको मूल भवन पूर्ण रूपमा क्षति भएको छ । यस्तै भवन परिसरमा राखिएका ५१ गाडी पूर्ण रूपमा जलेका छन् । दुईपाङ्ग्रे सवारीसाधनको क्षतिको यकिन भइसकेको छैन । यस्तै कम्प्युटर, प्रिन्टर, टेलिभिजनलगायत चोरी भएका छन् । कति सङ्ख्या चोरी भयो लगत सङ्कलन भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो । सर्वोच्चमा अहिलेलाई तीन वटासम्म इजलास राख्न मिल्ने अवस्था छ । यसअघि भूकम्पको समयमा सर्वोच्चको एनेक्स भवनमा बनाइएका इजलासमध्ये तीन वटा सञ्चालनयोग्य रहेको अदालत प्रशासनको भनाइ छ । ती इजलासबाट हाललाई सेवा दिन सकिने छ । सर्वोच्चमा अहिले २४ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा अदालतमा विचाराधीन मुद्दा र अभिलेखसमेतका मिसिल सम्पूर्ण रूपमा क्षति भएका छन् । ८० प्रतिशत मिसिल जलेको अदालत प्रशासनको प्रारम्भिक अनुमान छ । सर्वोच्चसँगै उपत्यकाका अन्य अदालतले पनि आंशिक सेवा सुरु गर्ने जनाएका छन् । नियमित मुद्दा सुनुवाइ भने तत्काल हुने अवस्था छैन ।