सिराज खान
नेपालगन्ज, भदौ २८ गते । जेनजीको प्रदर्शनको क्रममा ज्यान गुमाएका नेपालगन्जका एउटै वडाका दुई जना विद्यार्थीमध्ये आयुष थापाको अन्त्येष्टि शनिबार गरिने भएको छ । सोही प्रदर्शनमा ज्यान गुमाएका नेपालगन्जकै अर्का विद्यार्थी शुलभराज श्रेष्ठको भने शुक्रबार साँझ अन्त्येष्टि गरिएको थियो ।
नेपालगन्ज–१, धम्वोजीका १९ वर्षीय आयुष थापाको शव शुक्रबारनै नेपालगन्ज ल्याइए पनि आफन्तहरू नआएकाले आजमात्रै अन्त्येष्टि गरिन लागिएको पारिवाका सदस्यहरूले जानकारी दिएका छन् ।
थापाको शव अहिले भेरी अस्पतालमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि नेपालगन्ज-१, धम्वोजीस्थित निवासमा शव राखिने छ ।
दिउँसो नगर परिक्रमा गरेपछि राप्ती नदीस्थित सिधनिया घाटमा लगेर अन्त्येष्टि गरिने आफन्तहरूले बताएका छन् ।
जेनजी प्रदर्शनमा ज्यान गुमाएका नेपालगन्ज-१, धम्बोझीकै अर्का विद्यार्थी सुलभ राज श्रेष्ठको शुक्रबार साँझ अबेर अन्त्येष्टि गरिएको थियो । काठमाडौँबाट जहाजमार्फत शव ल्याइएपछि जुलुसका साथ घरसम्म पुर्याइएको शवलाई अन्तिम दर्शनका लागि घरमा राखिएको थियो ।
त्यसपछि शवलाई नगर परिक्रमा गराएर राप्ती नदीस्थित सिधनिया घाटमा लगेर अन्त्येष्टि गरिएको थियो ।
काठमाडौँमा सोमबार भएको जेनजीको प्रदर्शनमा नेपालगन्ज-१ का आयुष र सुलभले ज्यान गुमाएका थिए । एउटै वडाबाट दुई जना होनहार युवाले ज्यान गुमाएपछि सम्पूर्ण वडा शोकमा डुबेको वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।