अमरराज नहर्की
तनहुँ, भदौ २७ गते । जेनजी प्रदर्शनका कारण तनहुँ जिल्लामा बजार आपूर्ति र वितरणमा चुनौती बढिरहेका बेला उद्योग वाणिज्य सङ्घ तनहुँका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यापारीलाई कालोबजारी नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले राष्ट्रिय सङ्कटको घडीमा मुनाफा मात्र खोज्ने प्रवृत्ति नियन्त्रण नगरे ठुलो सामाजिक समस्या उत्पन्न हुने चेतावनी दिनुभयो ।मिश्रले ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “जङ्गबहादुर राणाले राष्ट्रिय सङ्कटको समयमा कालाबजारी गर्नेहरूलाई पाँच जना साक्षी राखेर काट्ने आदेश दिएका थिए, त्यसै जस्तै कठोर कदम चाल्नुपर्ने अवस्था फेरि आएको छ ।”
उहाँका अनुसार सङ्कटमा कालोबजारीले सामान्य नागरिकमाथि दोहोरो बोझ थप्ने भएकाले त्यसलाई रोक्नु अहिलेको पहिलो दायित्व हो ।
जेनजी आन्दोलनले दमौलीलगायतका बजारमा आपूर्ति व्यवस्थामा अवरोध पुर्याएको छ । यातायात अवरुद्ध हुँदा खाद्यान्न, इन्धन, नुन, तेलजस्ता दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । कतिपय व्यापारीहरूले अवसर खोज्दै मूल्य अस्वाभाविक रूपमा बढाएको उपभोक्ताहरूको गुनासो छ ।
यसैबिच उद्योग वाणिज्य सङ्घले बजार अनुगमनलाई तीव्र पार्ने जनाएको छ । “हामीले व्यापारीलाई सम्झाइरहेका छौँ, सङ्कटलाई कमाईको अवसर नठानौँ, नागरिकलाई आवश्यक सामग्री सहज मूल्यमा उपलब्ध गराउन सबै मिलेर अघि बढ्नुपर्छ,” मिश्रले भन्नुभयो । उहाँले अनुगमनमा पक्राउ परेका कालोबजारी गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्न प्रशासनसँग माग पनि गर्नुभयो । जेनजी प्रदर्शनका कारण सरकारी कार्यालयहरू जलेर ध्वस्त भएपछि प्रशासनिक सेवामात्र होइन, बजार नियमनसमेत प्रभावित भएको छ ।
उपभोक्ता अधिकारकर्मीहरूले समेत बजारमा अनियन्त्रित मूल्यवृद्धि र कृत्रिम अभाव देखिन थालेको भन्दै चासो व्यक्त गरेका छन् । उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले पनि व्यापारीलाई इमानदार बनाउन दबाब दिन थालेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइको सचिव अन्जु दाहालले सङ्कटको बेला नागरिकसँग छलफल र सहकार्य नगर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा व्यापारी वर्गकै छवि बिगार्ने बताउनुहुन्छ ।
उपभोक्ताहरुले पनि अध्यक्ष मिश्रको भनाइलाई समर्थन गर्दै सङ्कटको घडीमा इमानदारी नै सबैभन्दा ठुलो व्यवसाय हुने धारणा राखेका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी राजु हड्खले अध्यक्ष मिश्र राम्रो कुरा उठान गरेको बताउनुभयो । हड्खलेले भन्नुभयो “कालोबजारीले असमानता बढाउँछ, असमानताले असन्तोष जन्माउँछ ।”
इतिहासमा जंगबहादुर राणाले देखाएको कठोरताको उदाहरण दिँदै मिश्रले व्यापारीलाई सचेत हुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “आज पनि त्यस्तै कठोरता जरुरी छ । कालोबजारी गर्नेहरूलाई कानुनले मात्र होइन, समाजले पनि छाड्नु हुँदैन ।”
तनहुँ उद्योग वाणिज्य संघले चाँडै बजार अनुगमन समिति सक्रिय गर्ने र उपभोक्ता समितिसँग मिलेर निष्पक्ष मूल्य नियन्त्रणमा काम गर्ने जनाएको छ । सङ्कटको घडीमा व्यापारी र उपभोक्ताबिच विश्वास कायम राख्न सकियो भने मात्र तनहुँले अहिलेको कठिन परिस्थिति पार गर्न सक्ने अध्यक्ष मिश्रको विश्वास छ ।