परिवर्तनका निम्ति शान्तिपूर्ण प्रदर्शन स्वाभाविक हुन्छ । यो नागरिकको अधिकार पनि हो । नवपुस्ता अर्थात् ‘जेनजी मुभमेन्ट अलायन्स’ ले सामाजिक सञ्जाल खुला गर्नुपर्नेलगायतका माग राखी भदौ २३ गते सुरु गरेको शान्तिपूर्ण सडक प्रदर्शनमा दमन हुन पुग्यो । १९ जना होनहार युवाको ज्यान गयो । कैयौँ घाइते भए । फलस्वरूप विद्रोह हुन पुग्यो । विद्रोहले भोलिपल्ट पनि निरन्तरता पायो । तोडफोड र आगजनीसमेत व्यापक हुन पुग्यो । भदौ २४ गते देशव्यापी विद्रोहले सरकारको राजीनामाको मागलाई केन्द्रविन्दुमा राख्यो । त्यस क्रममा शान्तिपूर्ण प्रदर्शन मात्र भएन, तोडफोड र आगजनीका घटना देशभरि भए । भदौ २४ गते दिउँसो नै प्रधानमन्त्री पदबाट केपी ओलीले राजीनामा दिनुभयो । राजीनामा स्वीकृत भएपछि देश नयाँ परिस्थितिमा पुग्यो । प्रमको राजीनामापछि जेनजी मुभमेन्ट अलायन्सले आन्दोलन सफलताको अन्तिम विन्दुमा आइपुगेको प्रस्ट पारिसकेको छ । परिस्थिति सङ्क्रमणको चरणमा छ । न्यायालय, कार्यकारी, विधायिकालगायत देशका भौतिक संरचनामा अकल्पनीय आगजनी र तोडफोड भएको छ । यी सार्वजनिक संरचना जनताका अमूल्य सम्पत्ति हुन् । सरकारी सम्पत्तिका साथै निजी घरसम्पत्तिको तोडफोड, आगजनीले परिस्थिति कुरूप अवस्थातिर लगेको छ । जेनजीका नाममा आफ्नो स्वार्थ पूरा गर्ने समूहले कतिपय ठाउँमा सुरक्षाकर्मीको हातहतियार लुटपाट ग¥यो । बैङ्क तथा वित्तीय संस्थामा समेत लुटपाट बढ्न थाल्यो । यो सबै अवस्थाको सङ्गीन विश्लेषण गर्दै नेपाली सेनाका सामुन्ने शान्तिसुरक्षा पहिलो कर्तव्य बन्यो ।
शान्तिसुरक्षाका निम्ति भदौ २४ गते राति १० बजेदेखि नेपाली सेनाले पहल थालेसँगै परिस्थिति आसलाग्दो भएको छ । लुटपाट गरिरहेकालाई नेपाली सेनाले ठाउँका ठाउँ फेला पारी कानुनी प्रक्रियामा लैजान थालेको छ । काठमाडौँको नयाँ बानेश्वरमा एउटा बैङ्क लुटिरहेको समूहलाई सेनाले तत्कालै कारबाही प्रक्रियामा लगेको भिडियो सार्वजनिक भयो । त्यसले सकारात्मक सन्देश दियो । नेपाली सेनाले शान्तिसुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । विद्यमान जटिल परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर बुधबार बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेपछि अवस्थामा सुधार आयो । अत्यावश्यक सेवाका कर्मचारीलाई कार्यालयमा काम गरेर फर्कन सजिलो हुने गरी निषेधाज्ञाको समय मिलाइएको छ । त्यस क्रममा भदौ २६ गते अर्थात् आज बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरी शान्तिसुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । रक्षा मन्त्रालयमातहतको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मङ्गलबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण तथा यौनजन्य हिंस्रक प्रयाससमेत भइरहेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यस्ता अपराधजन्य गतिविधि नियन्त्रणमा सम्पूर्ण नागरिकसँग सहकार्य गर्न आग्रह गरिनु स्वाभाविक छ । सेनाले आन्दोलनका क्रममा जनधनको क्षतिप्रति पुनः गहिरो दुःख प्रकट गर्दै यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको प्रयासलाई साथ दिन सबैलाई अनुरोध गरेको छ । निषेधाज्ञा तथा कफ्र्युको समयमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन भएकाले नागरिकलाई सहज भएको छ ।
नवपुस्ताको परिवर्तनप्रतिको चाहना अब सङ्क्रमणकालीन चरणमा प्रवेश गरेको छ । अब परिवर्तनलाई संस्थागत गर्ने अमूल्य समय आएको छ । त्यसनिम्ति वार्ता र संवादलाई केन्द्रविन्दुमा राख्नु जरुरी छ । आन्दोलनका नाममा हुने कुनै पनि हिंसात्मक प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण दण्डनीय अपराध हो । यस्ता कार्यलाई कडा कारबाही गरिने नेपाली सेनाको चेतावनी स्वाभाविक छ । यसमा सम्पूर्ण देशप्रेमी नागरिकले साथ र सहयोग गर्नु पर्छ । यस्तो बेलामा सही र आधिकारिक सूचनाको ठुलो महत्व हुन्छ । नेपाली सेनाले सम्पूर्ण अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी र आमनागरिकलाई अफवाह वा भ्रामक समाचारमा विश्वास नगरी आधिकारिक सूचनामा मात्र भरोसा गर्न आग्रह गरेको छ । यो कठिन परिस्थितिमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनजीवन सामान्य राख्न सबैको सहयोग अपरिहार्य छ । अब परिवर्तनलाई संस्थागत गर्ने राजनीतिक संवादको प्रक्रियाले तत्काल गति लिनु पर्छ । शान्तिसुरक्षालाई पहिलो प्राथमिकता दिई मानवीय उद्धारमा पनि लाग्नुपर्ने छ । घाइतेको उपचारमा सहयोग आवश्यक छ । प्रदर्शनका नाममा घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट र व्यक्तिलक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलाप भत्र्सनायोग्य छन् । शान्तिसुरक्षा कायम गर्ने सेनाको प्रयासलाई सबै नागरिकको सहयोग अपरिहार्य छ ।