• २६ भदौ २०८२, बिहिबार

‘देश र समयले परिवर्तन चाहिरहेको छ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २६ गते । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जेनजीको आन्दोलनमा निर्ममपूर्वक हत्या भएका बालबालिका र युवाको तस्बिर देखेर मन भक्कानिएको बताउनुभएको छ । उहाँले उक्त कुरा सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, मानिस यतिसम्म कठोर र राक्षस हुन सक्दा रहेछन् भन्ने कुरा म कल्पना पनि गर्न सक्दिनँ ।

उहाँले लेख्नुभएको छ, आफ्नो हक अधिकारका लागि फूल लिएर त्यो शान्तिपूर्ण जुलुसमा भाग लिन गएका एआईको युगमा जन्मेका बालक र युवालाई निर्ममपू्र्वक कसरी गोली चलाउन सकेको होला ? यही कुरा मनमा खेलेको खेलै भएर राति अबेरसम्म निद्रा नलागेपछि औषधीको सहारा लिनुपर्ने भयो । देश र समयले परिवर्तन चाहेको छ । अहिलेका युवा शिक्षित र बौद्धिक छन् । समय अनुसार नहिँड्नेलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रस्टैसँग देख्यौँ । अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनु पर्छ भन्ने प्रस्टै छ । अहिले समयको प्रतिनिधित्व युवाले गरेको हुन्छ । युवाको माग नै समयको माग हो ।

उहाँले युवा शक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदिएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभयो, अबको समय हामी संयमित भई संसारभरि छरिएर बसेका नेपालीसमेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनालाई जोगाउने हो । साथै संरक्षण गर्ने, पुनर्निर्माण गर्ने र भ्रष्टाचाररहित विधिको शासन पद्दति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने विन्दुमा आइपुगेका छौँ ।