• २६ भदौ २०८२, बिहिबार

सामान्य बन्दै अवस्था

blog

मधेश प्रदेश ब्युरो 

जनकपुरधाम, भदौ २६ गते । मङ्गलबार जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनाले अस्तव्यस्त बनेको मधेश प्रदेशको राजधानी जनकपुरधामको अवस्था बुधबार बिहानदेखि भने सामान्य बन्दै गएको छ । बुधबार जनकपुरधामको बजार नखुले पनि नगर क्षेत्रमा मोटरसाइकल गुडेका छन् भने नगरका मूल सडकमा सर्वसाधारणको उपस्थिति र चहलपहल देखिएको छ । जनकपुरधामका स्थानीय युवाले जनकपुरधाम नगर क्षेत्रको विभिन्न चोकमा आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट उत्पन्न फोहोर सफा गर्न थालेका छन् । 

मङ्गलबार रातिदेखि नै नेपाली सेनाको नेतृत्वमा तीन तहकै सुरक्षा गस्ती हुन थालेपछि आज बिहानदेखि अवस्था समान्य बन्दै गएको हो । जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीका अनुसार सेना परिचालनपछि जनकपुरधामको अवस्था सामान्य बनेको हो । मङ्गलबार देशैभरि फैलिएको जेनजी आन्दोलनका समर्थकले मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । 

आन्दोलनका सहभागीले जनकपुरधाममा उपमहानगरपलिका क्षेत्रमा रहेको मधेश प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिकाको प्रशासनिक भवन, तिनकौरियास्थित विदेह नगरपालिका, जिरोमाइलस्थित टाफिक कार्यालय, जनकपुरधाम–८ को कार्यालयसहितका सरकारी संरचनामा तोडफोड र आगजनी गरेका छन् । आगजनीका  अर्बौंको क्षति भएको आकलन गरिएको छ ।

यस्तै आन्दोलनकारीले नेपाली कांग्रेस जिल्ला तथा प्रदेश पार्टी कार्यालयमा पनि तोडफोड तथा आगजनी गरेका छन् भने नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, कृष्ण यादव, एमाले नेता तथा प्रतिनिधि सभा सदस्य रघुवीर महासेठ, प्रदेश सभा सदस्य रामअशिष यादव, प्रदेश सिँचाइ तथा जलस्रोतमन्त्री शेषनारायाण यादव, एमालेका निलम्बित प्रदेश सांसद दीपेन्द्र ठाकुरको घरमा आगजनी गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय धनुषाले आन्दोलनमा भएको क्षतिको विवरण सङ्कलन जारी रहेको भन्दै सार्वजनिक गर्न केही समय अझै लाग्ने जनाएको छ ।

बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार जेनजीका नाममा  मङ्गलबार राति बर्दीबास–१ स्थित सङ्घीय मन्त्री शरतसिंह भण्डारीको घर, वडा नं. ३ गौरीडाँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोज यादवको घरमा तोडफोड र आगजनी भएको छ । राति नै नगरप्रमुख प्रह्लाद क्षेत्रीको बर्दीबासस्थित घरमा पनि ढुङ्गामुढा भएको छ । राजमार्गका ट्राफिक डिभाइडरमा क्षति पु¥याई सडक अवरोधको प्रयास गरिएको थियो । 

दिनभर जसो प्रदर्शन शान्तिपूर्ण रहे पनि मङ्गलबार ६ बजेतिर भेला भएका समूहले मन्त्री भण्डारीको चारतले भवनको उत्तर र पूर्वतर्फबाट आगजनी गरेका थिए । आगजनीबाट भवनमा लामो समयदेखि सञ्चालन हुँदै आएको होटेल पावन मिथिलाका लेखापालसहित दुई जना घाइते छन् । 

बर्दीबासका सडकमा बुधबार बिहानैदेखि बख्तरबन्द वाहनसहित सेना परिचालन भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले अर्को आदेश नआउन्जेलसम्मका लागि जिल्लाभर कफ्र्यु आदेश जारी गरिएको बताउनुभयो । 

चिन्तामा होटेल व्यवसायी 

होटेल पावन मिथिलामा आगजनी भएपछि बर्दीबासका होटेल व्यवसायीले असुरक्षा महसुस गरेका छन् । बर्दीबास होटेलको हब हो । यहाँ सानाठुला गरी करिब ५२ वटा होटेल छन् । मङ्गलबार रातिको घटनाले सुरक्षा स्थिति भरपर्दो नभएपछि यसको प्रभाव व्यवसायमा परेको जनाएका छन् । घटनाको गम्भीरतालाई दृष्टिगत गर्दै नगर क्षेत्रका होटेल व्यवसायीले आज बुधबार बिहानदेखि आकस्मिक बैठक राखी छलफलमा जुटेका छन् । 

सर्लाही समाचारदाता जर्नाजन खत्रीका अनुसार जेनजी पुस्ता समर्थनका नाउँमा भएको प्रदर्शन रोकिएसँगै बुधबारबाट सर्लाहीको जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ । 

सडक, बजारमा मानिसको आउजाउ बाक्लिन थालेको छ । पूर्वपश्चिम राजमार्गसहित भित्री सडकखण्डमा मोटरसाइकल, ट्याम्पोसहितका सवारीसाधन निर्बाध किसिमले सञ्चालन हुन थालेका छन् । सार्वजनिक सवारीसाधन भने सञ्चालन भएका छैनन् । बुधबार जिल्लामा जेनजी पुस्ताको कहीँकतै प्रदर्शन नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

सुरक्षा व्यवस्था चुस्त पार्न जिल्लाभर नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् । सर्लाहीस्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेकका गणपति एवं प्रमुख सेनानी (कर्णेल) उमेश खड्काले जिल्लाका २० वटै पालिकामा नेपाली सेना तैनाथ भएको जानकारी दिनुभयो । 

यस्तै आगजनी भएको बरहथवा नगरपालिकाको कार्यालय परिसरमा पनि युवा मिलेर सरसफाइ गरेका छन् । आगजनी भएका सवारीसाधन र नगर पालिकाभित्रको जलेका सरसामग्री युवा र स्थानीय मिलेर एकै ठाउँमा जम्मा पारी सरसफाइ गरेका स्थानीय सञ्चारकर्मी घनश्याम सिंहले बताउनुभयो । 

जिल्लाको मलङ्गवा, लालबन्दी, हरिवनसहित मुख्य बजार क्षेत्रका पसल, व्यवसाय ठप्प रहे पनि ससाना हाटबजार र ग्रामीण भेगका पसल खुल्न थालेका छन् । यहाँका शैक्षिक संस्था भने ठप्प नै रहेको छ । 

चन्द्रपुर समाचारदाता प्रवीणकुमार शर्माका अनुसार रौतहट जिल्ला अदालतले आफ्ना सम्पूर्ण सेवा बन्द रहने जनाएको  छ ।

रौतहट जिल्ला अदालतले बुधबार सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटको मिति २०८२ भदौ २४ को निर्णय अनुसार अनिश्चितकालीन कफ्र्यु आदेश जारी भएकाले अर्को सूचना जारी नभएसम्म रौतहट जिल्ला अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । भदौ २३ गते र २४ गतेको प्रदर्शनका क्रममा रौतहट जिल्ला अदालतमा कुनै क्षति नभए पनि अनिश्चितकालीन कफ्र्युको कारण सेवा प्रवाह बन्द गरिएको स्रेस्तेदार केशारनाथ अर्यालले जानकारी दिनुभयो ।

तीन दिन शोक बिदा

रौतहटको गुजरा नगरपालिका सिमरा भवानीपुरले तीन दिन शोक बिदा दिएको छ । देशका विभिन्न भागमा भएको आन्दोलनका क्रममा थुप्रै युवा, विद्यार्थी तथा नागरिकले अमूल्य ज्यान गुमाउनु परेको कारण दुःख र पीडादायी अवस्था सिर्जना गरेको भन्दै प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झनामा भदौ २५ गते बुधबारदेखि भदौ २७ गतेसम्म शोक बिदा दिइएको गुजरा नगरपालिका कार्यालयले जनाएको छ । प्रदर्शनका क्रममा देशका विभिन्न अस्पतालमा सयौँ घाइतेको उपचार भइरहेको अवस्थामा नेपाली समाज दुःखी बनेको नगरपालिकाद्वारा जारी शोक बिदाको सूचनामा उल्लेख गरिएको छ ।

भारदह समाचारदाता सुधा देवका अनुसार प्रदर्शनका क्रममा आन्दोलनकारीले सप्तरी जिल्लाका राजविराज नगरपालिका, खडक नगरपालिका, कञ्चनरूप नगरपालिका बोदेबरसाइन नगरपालिकालगायत जिल्लाका एक दर्जन पालिकाको कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

प्रदर्शनकारीले जिल्ला समन्वय समिति, उच्च अदालत जनकपुर राजविराज इजलास, सप्तरी जिल्ला अदालत, जिल्ला वन कार्यालय, कर कार्यालयलगायत एक दर्जन सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरी क्षति पु¥याएका छन् । प्रदर्शनकारीले राजविराजमा रहेका विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् ।

राजविराज नगरपालिकापरिसरमा रहेका जनताको सेवामा खटिने दमकल, एम्बुलेन्स, वारुणयन्त्र, सरसफाइमा प्रयोग हुने ट्याक्टर, टिप्पर, मलामीमा प्रयोग हुने गाडी, विपत्मा काम लाग्ने जेसिबीलगायत कार्यालयमा प्रयोग हुने सबै सवारीसाधन, ऐतिहासिक दस्ताबेज, महìवपूर्ण सबै नक्सा, कागजात जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जिल्लामा क्षति भएको विवरण अहिले आइनसकेको  तर यहाँको अवस्था सामान्य हुँदै गएको बताउनुभयो । 

कलैया समाचारदाता शिवशङ्कर मिश्रका अनुसार बुधबारदेखि बाराको अवस्था समान्य बन्दै गएको अवस्था छ । यद्यपि यहाँ पनि कफ्र्यु आदेश जारी रहेको छ । बाराको कलैया नगर क्षेत्रमा आमनागरिककोे चहलपहल नरहेकाले बजार सुनसान रहेको छ । 

गौशाला समाचारदाता अजय शाहका अनुसार मङ्गलबारदेखि महोत्तरी जिल्लाभर लगाइएको कफ्र्यु आदेशलाई बुधबार पनि निरन्तरता दिइएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मङ्गलबार साझ ६ बजेर ४० मिनेट बजेदेखि भदौ २५ गते बिहान ८ बजेसम्मका लागि लगाइएको कफ्र्यु आदेशलाई अर्को आदेश नभएसम्मलाई निरन्तरता दिइएको जनाउनुभएको हो ।