• २४ भदौ २०८२, मङ्गलबार

जनशक्ति निर्माणमा शिक्षा

blog

मानव सभ्यता र विकासबारे जिज्ञासा राख्दा करिब २० हजार वर्षपूर्व हाम्रा पुर्खा जङ्गली अवस्थामा रहेको अनुमान गरिन्छ । उनीहरूको जीवनशैली फिरन्ते र जनावर झैँ गुफामा वा ओढारमा बसी जङ्गली हिंस्रक जनावरबाट बच्ने उपायतर्फ लाग्न थालेका थिए । जाडो र गर्मीको यातना सहनुका साथै हावाहुरी बतास, वर्षा आदि प्राकृतिक प्रकोपका यातना सहनुपर्ने बाध्यता थियो । त्यतिबेला वनका कन्दमूल, फलफूलका साथै जनावरका मासु नपकाई खाने गर्थे । त्यसबेला आगो कसरी बाल्ने पत्तो थिएन ।

समयक्रमसँगै मानिसले जङ्गली अवस्थामै हुँदा दुई वस्तुलाई बेस्सरी रगडेर आगो निस्कन्छ भन्ने बुझ्न थाले । यो नै मानव सभ्यताको प्रथम चरण मान्न सकिन्छ । यसपछि मानिसले जङ्गली पशुलाई आफू बसेको ठाउँमै राखी रत्याउन थाले । तिनको उपयोगिता बुझ्दै आए । ती जनावरबाट दुध, मासु र छालाको उपयोग गर्न सिके । पाल्तु पशुहरूको फाइदा लिन जान्नु मानव सभ्यताको दोस्रो अवस्था थियो । मानिसले बोटबिरुवा कसरी उब्जनी हुन्छ भन्ने अनुसन्धान गर्न थाल्यो । अनि उसले पत्ता लगायो कि बोटबिरुवाको बिउ माटोमा उब्जिएर आउने र फल दिने गर्दा रहेछन् भन्ने कुरा । त्यसपछि आफ्नो जीवननिर्वाहका लागि खेतीपाती लगाउने नौलो कुरा पत्ता लाग्यो । यो नै मानव सभ्यता विकासको ठुलो फड्को बन्न गयो ।

त्यसपछि मात्रै मानिसले स्थायी बसोबासको कल्पना गर्न थाल्यो । स्थायी बसोबासका लागि नदीको किनार वा पानीको मुहाननजिक भएको ठाउँ वा समुद्रतट रोज्न थाले । त्यहाँ पिउनका लागि पानी, खेतीपातीका लागि रसिलो जमिन, गाईवस्तुका लागि हरियो घाँसपात हुने भयो । मानिसले आरम्भमा बस्न थालेका ठाउँहरू पछि सभ्यताका ठुलठुला केन्द्र बन्न थाले । उदाहरणस्वरूप टाइग्रिस र इयुफ्रिटिज नदीका किनारमा रहेको मेसोपोटमियाको सभ्यता, नाइल नदीका तटमा अवस्थित मिश्र सभ्यता नीलघाँटी र सिन्धुघाँटीको सभ्यताका सचियाङ्सी, वाङ हो र सिक्याङ नदीको किनारमा विस्तारित चिनियाँ सभ्यताको प्रसङ्ग पनि उल्लेखनीय छ ।

मानिसले यस किसिमको अज्ञानताको अँध्यारो अवस्थाबाट पनि अनेक जुक्ति र बुद्धि लगाएर भोक, रोग, घाम, पानी, जाडो, गर्मी र अन्य दैवी प्रकोपबाट बच्दै नयाँ नयाँ कुरा पत्ता लगाउँदै आयो । त्यसबेलासम्म पनि उसमा कुनै औपचारिक शिक्षाका सम्बन्ध कुनै ज्ञान थिएन तर नयाँ कुराप्रतिको जिज्ञासा र खोजी गर्ने तिर्खा भने तीव्र गतिमा बढ्दै आएको पाइन्छ । अब मानिसले व्यवस्थित बस्तीको चाहना राख्न थाल्यो । त्यहाँ अनुशासन र नियम पालनबिना व्यवस्थित बन्न नसक्ने कुरो बुझ्यो । अनि नगर राज्यको क्रमैसँग स्थापना हुन थाल्यो । नगरको विकाससँगै औद्योकीकरणको कल्पना बढ्दै आयो । मध्ययुगतिर आएर कपडा बुन्ने, घर बनाउने जस्ता काम पनि सिक्न थाले । यसका लागि कुनै शिक्षक, पाठ्यपुस्तक वा विद्यालयबाट सिकेर गर्न थालेका होइनन् । तिनले आफ्ना सभ्यताका हरेक फड्को स्वतः स्फूर्त रूपमा सिक्दै अघि बढेका हुन् ।

मानिसमा आएको औद्योगिक सभ्यताको श्रमको विभाजनका साथै विशिष्टीकरणतर्फ पनि अग्रसर हुन थाल्यो र औद्योगिकीकरणतर्फ बिस्तारै लम्कँदै आयो । यसरी मानिसको सभ्यता र सिप एकअर्काका परिपूरक बन्दै प्राचीन कालदेखि नै आए । सिपको विकाससँगै उसमा निहित कलात्मक प्रकृतिको पनि गहनतम भूमिका रहँदै आएको कुरा मानव सम्यताको इतिहासले स्पष्ट पार्छ । हुन त मानिसका अनन्त चाहना भएता पनि बाँच्नका लागि नभई नहुने उसका आधारभूत आवश्यकता भनेका गाँस, बास, कपास जस्ता कुरालाई पहिलो प्राथमिकतामा पर्छ । यसपछि मात्र मानिसले आफ्ना विचार र कार्यलाई सुन्दर ढाँचामा प्रस्तुत गर्दै आयो । अनि आफ्ना अभिव्यक्तिलाई प्रकाश गर्न अनेक शब्दको संयोजन गरी सिर्जना बढाउन थाल्यो ।

त्यो पनि मानिसले अनेक बल बुद्धिले पत्ता लगाई आफ्ना मनका कुरा भाषामा कोर्न जान्यो र सुन्दर साहित्य सिर्जनातर्फ पनि वामे सर्न थाल्यो । मनका कुरा बोलेर लेखेर अरूको समक्ष पु्¥याउन सक्ने भयो । अनि गणितीय बुद्धि जुक्ति पनि मानिसमा आयो । ऊ चित्र कोर्न सङ्गीत रचना गर्न काठ र धातु जस्ता वस्तुको सजीव मूर्ति निर्माण गर्न जान्यो ।

मानिस स्वभावैले बौद्धिक प्राणी भएकाले हरेक विषयमा जान्ने बुझ्ने प्रयत्न निरन्तर जारी राख्दै आयो । आफूले जानेका ज्ञान र सिपलाई पछिल्लो पुस्ताका लागि पनि काम लाग्ने हुँदै आयो । यस्ता कुराको सहजता अक्षर र अङ्कको आविष्कारबाट हुन गयो । मानिसले भाषा लेख्न र बोल्न नजानेको भए आफ्ना विचार, धारणा र अनुभव अरूका लागि उपयोगी बन्ने थिएन ।

हाम्रा पूर्वजहरूको अनुभूति र ज्ञानलाई लिखित रूपमा सञ्चय गर्न जान्दै आएबाट नै सुधारका क्रमहरू पनि बद्लिँदै फेरिँदै आए । आज मेसिन युगको आकर्षक उपकरणको प्रयोगले उत्पादनको छेलोफेलो देखिँदै आयो । मानिसका बौद्धिक प्यास मेटाउने शैक्षिक संस्था स्थापना हुन थाले । क्रमशः विद्यालय, विश्वविद्यालय, पुस्तकालय स्थापना हुनुका साथै समसामयिक वस्तुस्थितिको जानकारीका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि नभई नहुने हुन् । यिनकै माध्यमबाट नै मानिसले धेरै कुरा सिक्दै र बुझ्दै आए ।

शिक्षाको माध्यमबाट मानिस सभ्य सुसंस्कृत समय उपयोगी बन्दै आयो । ऊ विवेकी, ज्ञानी, मानवीय संवेदनशीलता, सत्य, निष्ठा, गम्भीर, संयमी र विनयशील बनाउनमा शिक्षाको ठुलो भूमिका रहँदै आयो । शिक्षाले नै मानवीय आत्माको सही र सुन्दर पक्षलाई प्रकाशित गर्दै गुणी, विवेकी, सत्य र असत्य छुट्याउन सक्ने क्षमतावान् बनाउँछ । समाजमा रहनका लागि मिलनसार र सहयोगी पनि शिक्षाले नै गराउँछ । प्रश्न उठ्छ के आजको शिक्षामा यस्ता गुण उपलब्ध छन् ?

हाम्रो वर्तमान शैक्षिक ढाँचा ज्ञान र सिपयुक्त छन् ? हाम्रो शिक्षा यथास्थितिबाट कति मुक्त छ ? प्रस्तुत सन्दर्भमा यस्ता कुरा उठ्नु स्वाभाविकै छन् । शिक्षाका कुरा उठ्दा जहिले पनि समाजका लागि कस्तो शिक्षा नीति र कार्यक्रम अवलम्बन गर्ने हो यस सम्बन्धमा ठुलठुला सवाल उठी रहन्छ ।

शिक्षालाई सधैँ सामाजिक दृष्टिले हेरिने भिजन नभई हुँदैन । शिक्षाका माध्यमबाट नै समाजको प्रगति, उन्नति र समृद्धि हुँदै जाने हो । व्यक्तिमा हुने जीवनोपयोगी सिप तथा व्यवहार र उसमा हुने मानवीय मूल्यमान्यतामा आधारित हुन्छ । मानवीय मूल्य भन्नाले उसमा निहित सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाका बाटो हुन् । शिक्षाको उद्देश्य हरेक मानिसमा निहित प्रतिभालाई प्रस्फुटन गराई तिनको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउनु हो । विद्यालयमा प्रवेश गरेपछि जुन संस्कार विद्यार्थीमा विकास हुने हो त्यो क्रमशः विकास भई व्यवहारमा ल्याउन सके मात्र त्यो शिक्षाको प्रयोजन हुन आउँछ । शिक्षा भनेको नै विद्यार्थीले शिक्षण सिकाइबाट सिप आर्जन गरी सिर्जनात्मक चेत खोली उन्नत जीवनतर्फ उन्मुख हुनु हो । प्रवृति परिवर्तनका लागि चेतना र सोचमा सुधार नआई हुँदैन असल चरित्र निर्माणमा असल शिक्षा चाहिन्छ । 

शिक्षा नै मानव विकासको पूर्वाधार भएकाले मानव इतिहास सभ्यता र संस्कृतिको आधारशिला पनि हो । यसैबाट राजनीतिक र सामाजिक परिवर्तनको जागरण हुने हो । अतः शिक्षा प्रणालीलाई प्रभावकारी सिर्जनशील जीवनोपयोगी र उत्पादनमूलक नभई हुँदैन । शिक्षा सामाजिक परिवर्तनको संवाहक हो । समाज विकास र परिवर्तनका लागि आवश्यक पर्ने जनशक्ति निर्माण शिक्षाबाट हुनु पर्छ अनि मात्र ती दक्ष र सक्षम नागरिक हुन्छन् र तिनकै सिप, ज्ञान र बुद्धिका आधारमा देशको विकास हुने हो । इतिहास र मानव सभ्यतासँगै हाम्रो मुलुक गणतन्त्रमा प्रवेश भएको छ तर अझै शिक्षा क्षेत्र सुधार केवल नारामा सीमित छ । शिक्षालाई समयोचित विकास विस्तारमा ध्यान दिई मानव सभ्यताको इतिहाससमेत मनन गरी युगानकूल शिक्षाको स्थान अपरिहार्य छ ।