• २३ भदौ २०८२, सोमबार

अपाङ्गता सहायता कक्षः सेवासँगै अवसर

blog

व्यास नगरपालिकाले स्थापना गरेको अपाङ्गता सहायता कक्ष । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २३ गते ।
अपाङ्ता भएका व्यक्तिलाई समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले व्यास नगरपालिकाले दीर्घकालीन योजना अघि बढाएको छ । दीर्घकालीन योजना अनुसार नगरपालिको सञ्चालनमा ल्याएको ‘अपाङ्ता सहायता कक्ष’ सो योजनाको आधारस्तम्भ मानिएको छ ।

अपाङ्गता प्रमाणपत्र बनाउने, सुविधा–सेवाबारे जानकारी लिने, हक–अधिकार अभिवृद्धि गर्ने तथा आवश्यक सिफारिस जस्ता कामका लागि सहज रूपमा सेवा लिन अपाङ्गता कक्ष निर्माण गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।  सहायता कक्षमा प्रवेशद्वारदेखि सेवाप्रवाहसम्म सबै संरचना अपाङ्गता भएका व्यक्तिका लागि मैत्रीपूर्ण बनाइएको छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘ह्विलचियरमैत्री ढोका, सफ्टवेयरमार्फत अभिलेखीकरण, तालिमप्राप्त कर्मचारी र साङ्गेतिक भाषाको व्यवस्था गरी  छिटो, छरितो र सेवा उपलब्ध गराएका छौं ।’’

साङ्गेतिक भाषाका दोभाषेलाई निरन्तरता दिने र अपाङ्गतासम्बन्धी सङ्घसंस्थासँग सहकार्य गरी योजनाहरूलाई कार्यान्वयन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा अपाङ्गता क्षेत्रमा विशेष प्राथमिकता दिइएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो ।

उपप्रमुख दरैका अनुसार सबै सामुदायिक विद्यालय र सार्वजनिक संरचनालाई अपाङ्गतामैत्री बनाउन, स्वास्थ्य बीमा सुनिश्चित गर्न, तथ्याङ्क अद्यावधिक गरी सेवाप्रवाह गर्न, सशक्तीकरण र पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न तयारी गरिएको छ । साथै, विभिन्न खेलकुद, सीप विकास तालिम, सचेतनामूलक कार्यक्रम र रोजगारी अवसरमार्फत आर्थिक तथा सामाजिक सुदृढीकरण गरिने भएको छ ।

नगरपालिकाले अपाङ्गता भएका बालबालिकालाई एकै विद्यालयमार्फत शिक्षा उपलब्ध गराउने, सहायता कक्षमा नियुक्त कर्मचारी कृष्ण थापाले यस पहलले अपाङ्गता भएका व्यक्तिहरूलाई नगरभित्र मात्र नभई सङ्घ, प्रदेश र अन्य निकायसँग पनि सहज समन्वय गर्न सक्ने बताउनुभयो । सहयता कक्षमार्फत उपलब्ध हुने सेवाहरू छिटो, छरितो र व्यवस्थित गरिएको उहाँले जानकारी दिनुभयो ।