गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २३ गते । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाइएकाले भर्जुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत त्यस्ता सञ्जाल नचलाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल भिपिएनमार्फत प्रयोग गर्दा असुरक्षित, अनधिकृत र जोखिमयुक्त हुने भएकाले नचलाउन अनुरोध गर्नुभएको हो । आमसर्वसाधरणले भिपिएनमार्फत सामाजिक सञ्जाल निर्वाध रूपमा चलाइरहेका छन् ।
सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन पाँचौँ पटक आग्रह गरेको छ । नेपालमा सञ्जालमा रहेका सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटर्फमले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका–२०८० बमोजिम सूचीकरण हुन आग्रह गरेको प्रवक्ता ठाकुरले बताउनुभयो । सामाजिक सञ्जालले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियमन परिपालना निगरानी गर्ने अधिकारी तोकेर सूचीकरण हुन सबै सामाजिक सञ्जाललाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
आमनागरिकले प्रयोग गर्ने सामाजिक सञ्जाल प्लेटर्फम निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभएर स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण बनाउन मन्त्रालयले आग्रह गरेको छ । साथै मन्त्रालयले सामाजिक सञ्जाल नियमन गर्ने विषयलाई कार्यान्वयनमा सहयोग पु¥याउन आमसर्वसाधारणमा अपिल गरेको छ ।