• २३ भदौ २०८२, सोमबार

‘निजामती सेवा राष्ट्र निर्माणको अभिन्न अङ्ग’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २३ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । अझ प्रतिबद्ध भएर सेवा प्रवाह गर्नसमेत उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।  २२ औँ निजामती सेवा दिवसका अवसरमा काठमाडौँमा आयोजित मूल समारोह समितिको कार्यक्रममा उहाँले निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर भूमिका बहन गर्नुपर्नेमा जोड दिनुभयो । 

सरकारले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक नेतृत्वको निर्देशनमा रहेर भूमिका निर्वाह गर्न सबै कर्मचारीलाई आग्रह पनि गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरूको वितरण गर्ने र राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती कर्मचारीको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै मन्त्री सिंहले भन्नुभयो, “शासन व्यवस्थाको मेरुदण्डका रूपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको अभिन्न अङ्ग हो ।” 

सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचार शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी नेपाल सरकार अघि बढिरहेको चर्चा गर्दै उहाँले सरकारको उक्त अभियानलाई साथ दिन कर्मचारीलाई आग्रह गर्नुभयो । कर्मचारीले आफूलाई समयानुकूल परिमार्जित गर्दै सेवाग्राहीको विकास र सुशासनको अपेक्षालाई पूर्ति गर्नुपर्ने उल्लेख गर्दै सुशासन र सेवा प्रवाह कायम राख्ने मुख्य दायित्व नै कर्मचारीको भएकोमा मन्त्री सिंहले जोड दिनुभयो । 

सिर्जनशील बन्नु पर्छ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सूचना र प्रविधिमा भित्रिँदै गएको नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई कर्मचारीले प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । तीव्र रूपान्तरण भइरहेको आजको युगमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा जस्ता र आधुनिक प्रविधिको प्रयोग गरी छिटो, छरितो र सरल रूपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधारमार्फत नागरिकको विश्वास आर्जन गर्न सक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले ढड्डा अड्डाबाट सुरु भएको निजामती प्रशासन अहिले क्रमिक रूपमा आधुनिक प्रविधिमैत्री सेवाको रूपमा विकास हुँदै गएको बताउनुभयो ।  

केही दिनभित्रै जारी हुन लागेको सङ्घीय निजामती सेवा ऐनले प्रशासनिक सङ्घीयतालाई मजबुद बनाउने चर्चा गर्दै उहाँले कर्मचारीलाई आफैँ समयसापेक्ष सक्षम र प्रतिस्पर्धी बन्न आग्रह गर्नुभयो । 

घोषणा गरिएन पुरस्कृतको नामावली 

सरकारले हरेक वर्ष निजामती सेवा दिवसको दिन पुरस्कृत हुने कर्मचारीको नामावली सार्वजनिक गर्दै आए पनि यस वर्ष भने नामावली घोषणा गरेन । तयारी नपुगेको भन्दै सरकारले पुरस्कृत हुने कर्मचारीको नामावली सार्वजनिक नगरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

सरकारले निजामती सेवा दिवसको उपलक्ष्यमा एक जना कर्मचारीलाई  सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गदैँ आएको थियो । सर्वोत्कृष्ट पुरस्कारको राशि दुई लाख रुपियाँ, उत्कृष्ट निजामती पुरस्कार एक लाख र निजामती सेवा पुरस्कारका राशि ५० हजार रुपियाँ रहेको छ । कार्यक्रममा अघिल्लो वर्ष छानिएका कर्मचारीहरूलाई भने सम्मान गरिएको थियो ।