रवीन्द्र उप्रेती
बर्दीबास, भदौ २१ गते । निर्धारित समयमै निर्माण सम्पन्न हुन नसक्दा बर्दीबास नगरपालिका–१० र ११ हुँदै जाने वनपथ–खयरमारा सडक विवादमा तानिएको छ । केवल पाँच किलोमिटरको यो सडक ठेकेदारको ढिलासुस्ती, बजेट विवाद र प्रशासनिक कमजोरीले निर्माण सुरु भएको चौथो वर्ष बित्न लाग्दा पनि बन्ने नबन्ने अनिश्चित छ ।
लम्बाइ सानो देखिए पनि यो सडकले पूर्वपश्चिम लोकमार्ग हुँदै दक्षिणमा भारतीय सीमा र उत्तरमा खयरमारा–मरिनखोला हुँदै मदन भण्डारी राजमार्गलाई जोड्ने भएकाले यसको व्यापारिक र रणनीतिक महìव उच्च छ । नगरप्रमुख प्रह्लाद क्षेत्रीका अनुसार यो सडक बर्दीबासका विकट भेगको विकासका आधार भएकोले काम चाँडो सक्न सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दै आएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “फेरि पनि निर्माणमा लापर्बाही हुनु दुर्भाग्यपूर्ण हो ।” मधेश प्रदेश सरकारको एक प्रदेश निर्वाचन क्षेत्र, एक सडक कार्यव्रmम अन्तर्गत आर्थिक वर्ष २०७७÷७८ मै डिपिआर तयार गरी निर्माण प्रव्रिmया सुरु भएको थियो । पूर्वाधार विकास कार्यालय जलेश्वरका अनुसार आव २०७८÷७९ मा पुष्पाञ्जली कन्स्ट्रक्सन प्रालि काठमाडौँले पाँच करोड ५८ लाख ६० हजार रुपियाँमा ठेक्का लिएर काम सुरु गरेको हो । ठेक्का अनुसार २०८० पुस मसान्तसम्म सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म एक हजार छ सय मिटर मात्र कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार ठेकेदार कम्पनीले करिब दुई करोड ६९ लाख रुपियाँ भुक्तानी पनि पाइसकेको छ ।
पूर्वाधार विकास कार्यालय महोत्तरीका इन्जिनियर एवं साइट इन्चार्ज विजय साहले बाँकी काम छिटो सक्न पटक पटक पत्राचार गरिनुका साथै ठेकेदार कम्पनीकै अनुरोधमा दुई पटक म्याद थप गरिए पनि सडक निर्माण अधुरै रहेको बताउनुभयो ।
यसैबिच काम सुरु गरेको देखाउन ठेकेदार कम्पनीले बाँकी खण्डमा दुई पटक प्राइम पनि गरेका थिए । कालोपत्रे गर्न ढिलाइ गर्र्दा दुवै पटकको प्राइम खेर गएको छ । बेस उप्किएर खाल्टाखुल्टी बढेकोले वनपथ–खयरमारा खण्डमा आवागमन कष्टकर बनेको छ । साइट इन्जिनियर साहले भन्नुभयो, “कालोपत्रे गर्न अब दुई हजार आठ सय मिटर मात्र बाँकी छ । सम्पर्क गर्दा ठेकेदारले छिट्टै काम सक्छु भन्छन् । दुई पटक प्राइम लगाएर २० लाख रुपियाँ जति खर्च पनि गरिसके । फेरि पनि काम अघि नबढाउनुका कारण हामीले पनि बुझ्न सकेनौँ ।”
पूर्वाधार विकास कार्यालयका अनुसार ठेकेदार कम्पनीले करिब दुई करोड ६९ लाख रुपियाँ भुक्तानी पाइसकेको छ । स्थानीय समाजसेवी पोषण थापाले भन्नुभयो, “२०८० पुसमै सम्पन्न भइसक्नुपर्ने पाँच किलोमिटर सडक पटक पटक म्याद थप गर्दा पनि ठेकेदारले अटेर गर्नु कसको कमजोरी हो ?”