दोलखाको प्रमुख जात्रामा कुमारी जात्रा पर्दछ । गाईजात्राको भोलिपल्ट वा भाद्र कृष्ण द्वितीयादेखि सुरु भई षष्ठीसम्म पाँच दिन यो जात्रा मनाइन्छ । यस जात्रामा ढोलक र झ्याम्टा बजाउने दुई र सनई बजाउने १२ गरी १४ जनाको वाद्यवादन समूह हुन्छ । कुमारी जात्रामा भैरव, कुमारी र तिनका ‘चाकलचुकुल’ (परिचरहरू) जस्तै घोडा सवार, नाक काट्ने, कपडा बुन्ने, जाल फ्याँक्ने, खर्पन बोक्ने भरिया, गुभाजु आदि गरेर १४ जनाको समूह हुन्छ । गुभाजु र खर्पन बोक्ने भरियाले जात्राको दोस्रो दिनदेखि मात्र भाग लिन्छन् । परिचरहरू आआफ्नै तरिकाले नाच्दै भैरव र कुमारीभन्दा अगाडि नै जात्राको मार्गमा अघि बढ्छन् । यस जात्रामा घर्ती परिवारले मात्र भाग लिन पाउँछन् । जात्रामा भाग लिनेले आफूलाई शुद्ध राख्न त्यस दिन केही पनि खाना खाँदैनन् । यस जात्रालाई टसिचा टोल र पिङ्गल टोलका घरबाट तीन समूह पालैपालो निकाल्ने चलन छ ।
कपडा र मैन निर्मित कालो मुकुन्डो लगाएका भैरवले कालो पहिरन र भक्तजनले चढाएका गहना लगाएका हुन्छन् । उनको शरीरको पछिल्लो भागलाई लामो कालो केशले ढाकेको हुन्छ । रातो मुकुन्डो लगाएकी कुमारीले पूर्ण रूपमा रातो पहिरन र गहना लगाउने गर्छिन् । यसैले यिनीहरुलाई ‘कालो कुमारी’ र ‘रातो कुमारी’ भनिन्छ । यो जात्रामा भैरव र कुमारीलाई साँझदेखि बिहानसम्म नचाइन्छ । द्वितीयाका दिन पहिलो दिन कुनै तामझामबिना भैरव र कुमारी जात्रा निकालिन्छ । यो जात्रा सुरु भएको पहिलो दिनमा भूतप्रेतले जात्रालाई बिथोलेको थियो भन्ने जनधारणा छ । दोस्रो दिनदेखि मुकुन्डो र भैरवको शरीरमा बाँधिएको लिङ्गसहित पूर्ण टोलीका साथ जात्रा सुरु हुन्छ । पहिलो दिनमा टोलीका सबै सदस्य सहभागी हुँदैनन्, भैरवको लिङ्ग र मुकुन्डो सजाइएको हुँदैन । पहिले जैसी भनिने व्यक्तिले व्रतालु महिलाले चढाएका प्रसाद भैरव र कुमारीलाई अर्पण गर्छन् । दुवैलाई उसिनेको अन्डाको सगुन दिइन्छ । त्यस समय सगुन बाजा भनिने विशेष बाजा बजाइन्छ । कजित भनिने व्यवस्थापकले टाउकोमा पगरी लगाएपछि उनीहरू मुकुन्डो लगाएर बाहिर जान तयार हुन्छन् ।
पहिले बाटोमा भूतप्रेतलाई भगाउनुपर्ने गुभाजु घरबाहिर निस्कन्छन् । त्यसपछि ‘चाकलचुकुल’ भनिने परिचरहरू बाहिर निस्केर आँगनमा नाच्छन् । अन्त्यमा कुमारीपछि भैरव घरबाट बाहिर निस्केर नाच्न थाल्छन् । उनीहरू बाहिर आएपछि बाजाको धुन परिवर्तन हुन्छ । त्यसपछि सहरका विभिन्न भागमा रहेका मुख्य देवीदेवताका मन्दिरलाई नछुटाई कुमारी नाचलाई नगर परिव्रmमा गराइन्छ । प्रत्येक मन्दिरको अगाडि भैरव र कुमारीले परम्परागत रूपमा निर्दिष्ट ‘पहर’ (समय) नाच्नु पर्दछ, जसको अवधि ढोलक वादकले निर्धारण गर्छ । उनले समयको कमीलाई ध्यानमा राखेर पहरलाई लम्ब्याउन या छोटो पार्छ । नक्छेंँ टोलको शिम्भुथान र माथिल्लो टोलको सरचुकाबाट भैरवले ठुलो स्वरमा सिटी बजाउँछन्, जसलाई सहरको दक्षिण–पश्चिममा अवस्थित ‘सहरदेउ’ मा रहेको अर्काे देवतालाई सहायताका लागि भैरवले सङ्केत गरेको मानिन्छ । दोस्रो दिनदेखि भैरवको चरित्र निर्वाह गर्ने व्यक्तिको कम्मरमा तामाबाट बनेको लगभग डेढ मिटर लामो लिङ्ग बाँधिन्छ, जसलाई अर्काे व्यक्तिले रातभरि बोक्छ । किंवदन्ती अनुसार यदि बाटोमा आएका भूतप्रेत र आत्माहरूलाई तान्त्रिक गुभाजुले नियन्त्रण गर्न सकेनन् भने भैरवले आफ्नो भीषण लिङ्गद्वारा उनीहरूलाई धपाउँछन् ।
दोलखा सहरका सबै परिवारले भैरव–कुमारीलाई आफ्नो घरअगाडि पुगेपछि पाँचै दिन ठुलो श्रद्धासाथ पूजा गर्छन् । भैरव र कुमारीको आशीर्वादले आफ्नो हरेक समस्याको समाधान गर्न सकिन्छ भन्ने जनविश्वास छ । यदि कुनै व्यक्ति दीर्घरोगबाट पीडित छ वा कुनै घर भूतप्रेतद्वारा आक्रान्त छ भने भैरवले त्यो व्यक्तिलाई छुँदा वा भुताहा घरमा प्रवेश गर्दा समस्या समाधान हुन्छ भन्ने मान्यता छ । कुमारी जात्राको पाँच दिन श्रद्धालु महिला व्रत बस्छन् र आफ्नो परिवारको समृद्धिका लागि प्रार्थना गर्दै देवताको पूजा गर्छन् । कोही आफ्नो मृत परिवारको चिरशान्तिका लागि धूपबत्ती र काँचो धूप बालेर रातभर भैरव र कुमारी सँगै जान्छन् ।
पञ्चमीका दिन यो जात्रा अवलोकन गर्न दर्शकको भिड लाग्छ । दर्शकको मनोरञ्जनका लागि नाटक, नाचगान, हास्यव्यङ्ग्य जस्ता विभिन्न कार्यक्रम गरिन्छ ।
बिहान सबेरै भैरव र कुमारी घरभित्र पस्ने तयारी गरिरहेका बेला नाच अवलोकन गर्दा रमाइलो हुन्छ । काग उड्न थाल्नुअघि भैरव र कुमारीलाई घरभित्र प्रवेश गराइहाल्नुपर्ने चलन छ । त्यस समयमा एक हृदयास्पर्शी बाजा बजाइन्छ । पहिला भैरव धेरै पटक ढोकाबाट भित्र पस्ने र बाहिर निस्कने गरेपछि अनिच्छाले घरभित्र पस्छन् । त्यसपछि कुमारीले हरेक कुना कुनामा भैरवलाई खोजिरहेको अभिनय गर्छिन् र भैरवले जस्तै धेरै पटक ढोका भित्रबाहिर गरेर अनिच्छाले घरभित्र पस्छिन् । यो जात्रा षष्ठीको दिन समाप्त हुन्छ ।
बालकुमारीको मन्दिर दोलखा सहरको दक्षिण–पूर्वमा रुख र झाडीले घेरिएको ठाउँमा अवस्थित छ, जसलाई स्थानीय भाषामा ‘कोबिदेउ’ (तल्लो स्थानको देवता) भनिन्छ । बालकुमारी मन्दिरमा दीक्षा भएकाबाहेक अरूलाई प्रवेश निषेध छ तर आफ्नो कुलदेवता भएकाले शिवभक्ति कुलका मानिस त्यहाँ प्रवेश गर्छन् । दोलखाका कुनै पनि घरपरिवारले दसैँ, माघेसङ्व्रmान्ति जस्ता मुख्य चाडमा कोबिदेउलाई थापन (भोज) नछुट्याई भोज खाँदैनन् । मन्दिरमा प्रवेश गर्नयोग्य अन्य व्यक्तिमार्फत ‘कोबिदेउ’ मा थापन चढाउन पठाइन्छ । कुमारी जात्रासम्बन्धी किंंवदन्ती अनुसार भैरव र कुमारीलाई दोलखाका बासिन्दा शिव आचार्य तथा वन्दु आचार्यहरूले काठमाडौंँबाट तान्त्रिक विधिद्वारा जगाई दोलखामा ल्याई हाल त्रिपुरासुन्दरीको मन्दिर भएको ठाउँ नजिकैमा मन्दिर बनाई स्थापना गरेका थिए । यो स्थापनापछि देशमा महामारीको रोग फैलिएर धेरै मानिसको मृत्यु भएछ । त्यसैबेलामा एउटी घर्तिनी देवता आएर काम्न थालिन् र बोलिन्, “मलाई यस ठाउँमा नराख, तामाकोशीदेखि माथि, सहरदेखि मुनिको वनमा राखिदेऊ र मेरो सम्पूर्ण गणको मुकुन्डो बनाई सालको एक पटक जात्रा चलाऊ । जात्रामा देवता हुन घर्ती जातिबाहेक अरूलाई नलगाउनू ।” उनले मुकुन्डो बनाउदा कपडा र मैन सिवाय अन्य चिज प्रयोग नगर्नु भनी खरीको टुक्राले ढुङ्गामा लेखेर देखाइछन् ।
ढुङ्गामा लेखिए मुताबिकको मुकुन्डो कान्तिपुरबाट बनाएर ल्याएछन् । साथै कुमारीलाई उक्त स्थानबाट घर्तिनीले बोले अनुसार हाल रहेको ‘कोबिदेउ’ मा सारेछन् । त्यहाँको खाल्डोमाथि एक फलामे साङ्लो अद्यापि छँदै छ । त्यहाँ फलामे साङ्लो हुनुको सम्बन्धमा यस्तो भनाइ रहेको छ–
“कान्तिपुरबाट मुकुन्डो ल्याएपछि सालको तीन दिन जात्रा नचाउन सुरु गरेछन् । तैपनि देवीको दर्शन गर्न जानेहरू फाटफुट मर्ने क्रम रोकिएन । त्यसैले तान्त्रिकले देवीलाई बाहिर राख्न नहुने निष्कर्ष निकालेर जमिनमुनि आसन बनाई राखी ‘जुन अवस्थामा भुटेको भटमास उम्रला, जुन अवस्थामा खोलाको ढुङ्गा आँप होला, जुन अवस्थामा भँगेराले अरू जातिका चराहरूले जस्तै एक/एक खुट्टा सारी पाइला चलाउला सो अवस्थामा निस्कौँला’ भन्ने वाचा गराई बन्द गरी राखेछन्, जुन हालसम्म पनि बन्द नै छ ।” त्यसबेलादेखि नै उक्त मन्दिरमा दीक्षा भएको मानिसबाहेक अरू जान नहुने चलन छ ।
अर्काे किंवदन्ती अनुसार कालिञ्चोक भगवती, त्रिपुरासुन्दरी र बालकुमारी तीन देवी तामाकोशी नदीमा नुहाइरहेका बेला दोलखाका दुई तान्त्रिक दाजुभाइले देखे । उनीहरू देवी भन्ने चिनेर दुई भाइले उनीहरूलाई दोलखाका विभिन्न ठाउँमा बस्न राजी गराए । तीन बहिनीमध्ये बालकुमारी दोलखाको ‘कोबिदेउ’ मा बसोबास गर्न राजी भइछ । किशोरी बालकुमारी अलि उपद्र्याहा स्वभावकी थिइन्, बजार क्षेत्रमा घुमफिर गर्थिन् र उपद्र्याहा कार्य गर्थिन् । समय बित्दै जाँदा उनी रातो पहिरनमा सजिएर बजारमा घुम्न थालिन् र कहिलेकाहीँ केटाकेटीलाई मार्ने र खाने गर्न थालिन् । उनकी दिदी त्रिपुरासुन्दरीले उनलाई नियन्त्रणमा राख्न सकिनन् ।
बालकुमारीको उपद्रोबाट मुक्ति पाउन मानिसले आपसमा परामर्श गरेर पाटनबाट गुभाजुलाई गुहारेर ल्याए । गुभाजुले आफ्नो तान्त्रिक ज्ञानको प्रयोग गरेर कुमारीलाई आफू सँगै जाने भन्दै खाल्डोभित्र जान राजी गराए । उनले तिनलाई फलामको साङ्लोले बाँधे र तिनलाई आश्वस्त पार्न आफूलाई पिठोको साङ्लोले बाँधे । उनी खाल्डोमा हामफालिन् तर पिठोको सिक्री कमजोर भएका कारण गुभाजु माथि भुइँमा छाडिए । उनी खाल्डोमा खस्नेबित्तिकै गुभाजुले ठुलो ढुङ्गाले खाल्डो छोपेर फलामको साङ्लोको टुप्पोलाई ढुङ्गामा बाँधेर छोडिदिए । भनिन्छ, आजसम्म त्यो ठाउँको खाल्डोबाहिरको ढुङ्गामा त्यो साङ्लोको एउटा भाग देख्न सकिन्छ । यस जात्राको उत्पत्ति कुमारीसँग जोडिएको हुनाले यस जात्रालाई मूलतः कुमारी जात्रा भनिएको हो । भैरवले दुष्ट कुमारीलाई नियन्त्रणमा राख्नका लागि मात्र यो जात्रामा भाग लिएका थिए । यसै कारण जात्राको समयमा भैरवले कुमारीलाई आफूभन्दा अगाडि जान दिँदैनन् । जहिले पनि कुमारी भैरवपछि मात्र जान्छिन् । त्यसैले भैरवको प्रस्थानपछि धेरै ठाउँमा कुमारीले भैरवको खोजी गरिरहेको जस्तो गरी सनईको मात्र दुःखपूर्ण धुनमा केही मिनेट अभिनय गर्छिन् ।
कुमारीलाई खाल्डोमा थुनेपछि घर्ती कुलकी शिवलक्ष्मी नाउँ गरेकी एक महिलाले नगरवासीलाई कष्ट दिन थालिन् र उनीहरूका छोराछोरीको हत्या उनैले गरेको शङ्का गर्न थाले । शिवलक्ष्मीलाई स्थानीयले सजाय दिँदा आफू वास्तवमा बालकुमारी भएको र उनीहरूले सोचे जस्तो बालक हत्यारा नभएको कुरा भनिन् ।
त्यसपछि गुभाजुले देवी कुमारीलाई धोका दिएकोमा पश्चात्तापका रूपमा उनले बालकुमारीको जात्रा उनका पति भैरवलगायत सेवकहरू साथै निकालेर वर्षमा एक पटक पाँच दिनसम्म नगर परिक्रमा गराउने वचन दिए । यसैबिच शिवलक्ष्मीले जात्रा निकाल्ने सम्पूर्ण प्रक्रिया सुझाइन् र शिवभक्ति कुलका सदस्यलाई मात्र जात्रामा सहभागी गराउन आदेश दिइन् । यही कारण यस जात्रामा घर्ती कुलका मात्र सहभागी हुने गरेका छन् तर यस कुलभित्र पनि केही परिवार भैरवका रूपमा मात्र भाग लिन्छन् । केही परिवारले कुमारीका रूपमा मात्र भाग लिन्छन् ।
यो जात्रा कहिलेदेखि सुरु भएको हो भन्ने यकिन मिति कसैलाई थाहा छैन । तथापि स्वर्गीय प्रा. बालकृष्ण जोशीको ‘भैरव– कुमारीको सृष्टि र जात्रा, हाम्रो संस्कृति, २०२४’ अनुसार यो जात्रा १७८२/८३ सालतिर सुरु भएको हो । भैरव र कुमारीले लगाउने गरेका चाँदीका हारहरूमा क्रमशः काठमाडौँका चित्र नरसिंंह र दोलखाका विद्यानन्दले विसंं १८४८ र १८९८ मा अर्पण गरेको भन्ने लेखिएको छ । यसले दोलखाका कुनै राजाको शासनकालमा यो जात्रा धेरै अघिदेखि नै सुरु भएको सङ्केत गर्दछ ।