बागलुङ समाचारदाता
बागलुङ, भदौ २१ गते । बागलुङ नगरपालिका–२ को अति व्यस्त समीक्षालय चोकमा रहेको पार्कपरिसरमा जस्तापाताले छाएको एउटा साँघुरो छाप्रो छ । त्यही छाप्रोबाट ट्राफिक प्रहरीले कार्यसम्पादन गर्दै आएको छ । ट्राफिक प्रहरी बस्ने ठाउँ नभएपछि चार वर्षअघि वडा कार्यालयको सामग्री राख्ने स्टोरका रूपमा बनाइएको छाप्रोमा ट्राफिक प्रहरी कार्यालय राखिएको हो । धेरै पुरानो यो छाप्रोको जस्तापातामा खिया लाग्दा पानी चुहिन्छ र भुइँबाट पनि पानी रसाइरहन्छ ।
“त्यसै पनि साँघुरो र पुरानो छाप्रो, त्यसमा पनि पानी चुहिने र रसाउने समस्याले महत्वपूर्ण कागजातको सुरक्षा गर्न धौ धौ छ,” बागलुङका ट्राफिक प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर कुँवरले भन्नुभयो । निरन्तरको वर्षाले कार्यालयका कागजात र उपकरण सुरक्षा गर्न नियमित पानी सोरेर फाल्नुपर्ने बाध्यता रहेको कुँवरले गुनासो गर्नुभयो । उचित वासस्थान र कार्यालय नभएपछि सेवा पनि प्रभावित हुने कुँवरको भनाइ छ ।
पाहुना आउँदा पार्कको खुला चौरमा बसाल्नुपर्ने अवस्था रहेको कुँवरले बताउनुभयो । “उचित स्थानमा कार्यालय नहुँदा कार्यसम्पादन गर्न निकै असहज भएको छ । ट्राफिक प्रहरी अत्यावश्यक सेवाभित्र परे पनि कार्यालयलाई भवन र सेवासुविधा अपर्याप्त छ,” वरिष्ठ प्रनानि कुँवरले भन्नुभयो ।
जिल्लामा कतिपय सरकारी कार्यालय खाली नै छन् । केही कार्यालयको नयाँ भवन बनेपछि पुराना भवन जीर्ण बन्दै छन् । प्रयोगविहीन बनेका भवनमा ट्राफिक प्रहरी कार्यालय व्यवस्थापन गर्न सके भवनको सदुपयोग हुनुका साथै संरक्षण हुने बताउनुहुन्छ दलित युवा सञ्जाल बागलुङका अध्यक्ष राहुल बोहोरा ।
ट्राफिक कार्यालयसँगैको पार्कलाई अहिले झन्डापार्क बनाइएको छ । उखरमाउलो गर्मी छल्न दैनिक सयौँ बटुवादेखि बालबालिका र अभिभावक पार्कमा घुम्न आउने गर्छन् । भिडभाडले काम गर्नसमेत असहज छ । “कार्यालय स्मार्ट भएमा हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्छ,” कुँवरले भन्नुभयो, “साँघुरो भवनबाट सेवा चुस्त बन्न सकेको छैन ।”