घोराही समाचारदाता
घोराही, भदौ २१ गते । दाङमा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिनुको साटो घरमै सुत्केरी हुने क्रम बढ्न थालेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरे पनि कतिपयले घरमै सुत्केरी गराउने गरेका छन् ।
अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप दुई हजार रुपियाँ सुत्केरीले यातायात खर्च पाउने गर्छन् । स्थानीय तहले पनि थप सुविधा दिएका छन् तर पनि प्रसूति सेवा लिन स्वास्थ्य संस्था नजानेको सङ्ख्या आर्थिक वर्ष २०८१/८२ मा ६५ जना रहेको छ ।
आव २०७९/८० मा ३० जना घरमै सुत्केरी भएकोमा आव २०८०/८१ मा बढेर ६३ जना पुगेको थियो । स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्लो वर्ष सबैभन्दा धेरै बङ्गलाचुली गाउँपालिकामा ३९, घोराही उपमहानगरपालिकामा एक, बबई गाउँपालिकामा १०, राप्ती गाउँपालिकामा पाँच, गढवा गाउँपालिकामा दुई र राजपुर गाउँपालिकामा आठ जना आमा घरमै सुत्केरी भएका छन् । अन्य चार स्थानीय तहमा भने घरमै सुत्केरी भएको तथ्याङ्क देखिँदैन ।
दाङमा ४९ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालन छ । निजी अस्पतालमा पनि सुत्केरी गराउने व्यवस्था छ तर घरमै सुत्केरी गराउने बढ्दै जानु जनस्वास्थ्यको चुनौतीका रूपमा देखिएको स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरीक्षक रिता न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार स्वास्थ्य संस्थामै सुत्केरी गराउन जरुरी रहेको, गर्भ जाँच गर्दा गर्भवती महिलामा रगतको कमी भए/नभएको थाहा पाउनेदेखि रक्तअल्पताबाट बचाउन पनि नियमित गर्भ जाँच गर्नुपर्ने हुन्छ ।
उहाँले भन्नुभयो, “नियमित गर्भ जाँचले महिलाले परिवार नियोजन, गर्भावस्थामा हुने खतराका लक्षण, दुई बच्चाको जन्मान्तर कम हुँदा हुने खतरा, पाठेघर खस्ने समस्या जस्ता विषयमा जानकारी पाउँछन् तर कतिपय जाँच गराउन आउँदैनन् ।” उहाँले परम्परागत विधि प्रयोग गरेर घरमै सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यानमा खतरा हुने भएकाले स्वास्थ्य संस्थामा जानुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार कतिपय गर्भवतीले समयमै गर्भ जाँच नगर्ने, उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, घरमै सुत्केरी हुने र सुत्केरीपछि पनि गर्नुपर्ने नियमित स्वास्थ्य जाँच नगर्ने जस्ता समस्या रहेका छन् ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा स्वास्थ्य संस्थामा ७३ प्रतिशत प्रसूति भएको देखाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा नौ मातृमृत्यु भएको छ । जसमा तुलसीपुर र घोराहीमा तीन/तीन, बङ्गलाचुलीमा दुई, गढवामा एक जना आमाको मृत्यु भएको छ । जिल्लामा बालविवाहको समस्या अझै कायम रहेको देखिएको छ ।
कम उमेरमै विवाह गर्ने भएका कारण २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन् । किशोरावस्थामै आमा बन्ने र अनिच्छित गर्भपतन गर्ने प्रवृत्तिले मातृमृत्युसमेत हुने जोखिम रहेको पब्लिक हेल्थ नर्सिङ निरीक्षक न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार आव २०८१/८२ मा कुल संस्थागत डेलिभरीमध्ये २० वर्षभन्दा कम उमेरका डेलिभरीको सङ्ख्या १९१ रहेको छ ।