• २१ भदौ २०८२, शनिबार

मौलिक लोकतन्त्रको अभ्यास

blog

नेपालका हिमाली स्थानीय सरकारमा विकास निर्माणका आफ्नै मौलिकता अपनाएको हुन्छ । पूर्वमन्त्री छक्कबहादुर लामा भन्नुहुन्छ, “तपाईले कुनै ठाउँको परिस्थितिजन्य भूमानव संरचना बुझ्नुहुन्न भने त्यहाँ तपाईलाई शासन गर्न गाह्रो हुन्छ ।” यसको अर्थ सिंहदरबारमा बसेर कर्णाली प्रदेशको राज्य सञ्चालन गर्न सजिलो हुन्न । त्यसै कारणले होला नेपाललाई विकेन्द्रीकरणको चार दशकको अभ्यासले नपुगेर सङ्घीयता आवश्यक परेको । तैपनि आजसम्म कर्णाली विकास निर्माणमा पछाडि परेको छ । 

हिजोको कर्णालीभित्र प्रदेश धेरै प्रयास र लगानी गरे पनि अरू क्षेत्रभन्दा पछि प¥यो । अब नेपालमा केन्द्रीकृत शासन पद्धति छैन । सङ्घीय गणतान्त्रिक शासन प्रणालीमा गाउँपालिका/नगरपालिकाको वडामार्फत जनताको शासन जनताकै प्रतिनिधिद्वारा सिंहदरबारको अधिकार पालिका सरकारबाट विकास निर्माण र सेवा सुविधा प्राप्त गर्ने अवसर सुरु भएको छ । अझै धेरै स्थानीय सरकार केन्द्रमुखी निर्भरताबाट मुक्त हुन सकिरहेका छैनन् । उनीहरूले आफ्नो बानी, स्वभाव, शैली र व्यवहारमा परिवर्तन गर्नु पर्छ । त्यसपश्चात् परिवर्तन र समृद्धि धेरै टाढाको विषय हुँदैन । कर्णाली प्रदेशमा समृद्धि र त्यहाँका नागरिक सुखी बन्ने दिन गणना हुन थालेका छन् । ७७ जिल्ला सदरमुकाम जोड्ने राष्ट्रिय सडक सञ्जाल (मोटरबाटो), बिजुली, शैक्षिक संस्था, केही पर्यटनका पूर्वाधार, जनचेतनामूलक कार्यक्रम र स्थानीय रोजगारीका आयाम धमाधम बन्दै छन् । 

त्यहाँका जनता मधेश प्रदेशका समथल सुविधाका भूमानवभन्दा छिट्टै अघि बढ्दै छन् । नमुनाका रूपमा हुम्ला जिल्लाका ७ गाउँपालिकामध्ये नामखा गाउँपालिका नेपालको सबैभन्दा उत्तर तिब्बतको नगरी प्रदेशको पुरन काउँटी कैलाश मानसरोवरसँग जोडिएको छ । भूक्षेत्रफलको दृष्टिकोणले यो नेपालकै सबैभन्दा ठुलो गाउँपालिका हो । नामखा गाउँपालिकाका ६ वडामध्ये लिमी उपत्यका वडा नं. ६ मा पर्छ । उक्त गाउँ नेपाल सरकार (पञ्चायती सरकार) ले २०२८/२९ सालतिर मात्रै पत्ता लगाएको वडाअध्यक्ष छिरिङ पाल्जोर तामाङ बताउनुहुन्छ । यो लिमी गाउँ पञ्चायत, लिमी गाविस र हाल नामखा–६ वडामा परिणत छ । उक्त गाउँमा बस्तीका दृष्टिकोणले तीन गाउँ तिल गाउँमा ३०, हाल्जीमा ८५ र झाङमा ६२ घरधुरी थिए । उत्तरी सीमा पुरन काउटीमा रोजगारको अवसर राम्रो भएकाले र पश्चिमा मुलुकमा बसाइँसराइका कारण तिलमा तीन/चार घर, हाल्जीमा ५०/६० र झाङमा चार घरधुरी मात्र बाँकी छन् । विश्वव्यापीकरण र सूचना प्रविधि र सडक सञ्जालको पहुँचले यो अवस्था आएको हो । यी गाउँ छुट्टै विशेषता (परम्परा, तिब्बती संस्कृति र सहनसहन) बोकेको भेटिन्छ । उनीहरूको मुख्य पेसा सिमापार व्यापार, पशुपालन र निर्वाहमुखी कृषि, बौद्धधर्म र अर्ध फिरन्ते/घुमन्ते/खर्क (सेमी–नोम्याड) जीवन पद्धतिका थिए/छन् । 

उत्तरी सीमा लाप्चा (४९३३ मि.) नाकाबाट कैलाश मानसरोवरको मोटरबाटो नाका खुलेका कारण घोडा, चौँरी, पाठाको ढुवानी व्यापार धेरै मन्द रहेको छ, ती वस्तुको मूल्य ५० प्रतिशत घटेको छ । जिल्ला सदरमुकाम सिमकोटसँग प्रत्यक्ष आवतजावत बढेको छ । अर्को मोटरबाटो ताकलाकोट–हिल्सा–यारी–मुचु हुँदै सिमकोट जोडिई बस सेवा सञ्चालन हुन थालेका कारण जीवनभर एउटै ठाउँमा बसेर अर्को गाउँ र ठाउँ छ भन्ने थाहा नहुने अवस्था, बहुपति प्रथा, माइलामाइली झुमा (नम) बन्नुपर्ने प्रचलन बिस्तारै हराउँदै गएको छ । स्थानीय उत्पादन बढ्ने हो कि भन्ने लाग्छ तर जनशक्ति बाहिर पलायन छ । केही झाङबासी लाप्चा र लिमी छुट्टिने जक्सन– तुलिङ तातोपानीमा होटल/भट्टी थापेर बसेका छन् । 

हाल्जीगाउँ वरिपरि पहरामा विपश्यना गर्ने गुफा–ऊँ मानेपेमे, फिग्याल गुफालगायत हाल्जी गुम्बा ११ औँ शताब्दी पुरानो रहेको बताइन्छ । त्यही संस्कृति र गुम्बामा विद्यावारिधि गर्ने नर्वेस्थित ओस्लो विश्वविद्यालयकी महिला अस्ट्रिट पनि चिन्ता व्यक्त गर्छिन् । त्यहाँका अन्य मौलिक दुर्लभ तिब्बती सभ्यता र सांस्कृतिक सम्पदा (घर, गुम्बाका सुनका थाङका, भाँडावर्तन, वेशभूषा) बारे ४/५ जना थप युरोपियन अझै अध्ययन र अनुसन्धान गर्दै छन् । लिमी  उपत्यकालाई नेसनल जोग्राफी टिभी च्यानल र पत्रिकाले प्रचारप्रसार गरेपछि बल्ल नेपालको सरकारले गाउँ पञ्चायत घोषणा गरेको स्थानीयवासी बताउँछन् । यहाँ तिब्बती भाषा, वेशभूषा र रीतिरिवाज हिजोको तिब्बती प्रणाली जस्तै सक्कली भेटिन्छ । अर्थ व्यवस्थामा वस्तु विनियम (वाटर सिस्टम) बाट बिस्तारै सिक्का र नोटमा रूपान्तरण भइरहेको छ । अब डिजिटल करेन्सी सुरु भएको छ । अर्ध घुमन्ते (खर्क) पशुपालन जीवन पद्धतिमा क्रमशः परिवर्तन हुँदै छ । विगत प्रचलनमा दुई नाका– हिल्सा र लाप्चामा परम्परा शैलीमा (अवैद्य) प्रयोगमा र हिल्सामा औपचारिक अध्यागमन कार्यालय खडा गरी सञ्चालनमा छ । 

 लाप्चा–हेप्का–सिमकोट मोटरबाटो र लिमीका तीन वटै गाउँमा माइक्रोहाइड्रो उत्पादनले उनीहरूको जीवनशैलीमा आमूल परिवर्तन ल्याउँदै छ । लाप्चा (४९ सय मि.) उचाइमा एउटा टहरा र मानसरोवर कैलाश दर्शन र पूजाआजा गर्ने गुम्बा र ध्वजापतका बाँध्ने फलामका डन्डी राखिएको छ । यहाँबाट सिनेमा हलको बल्कोनीबाट फिल्म हेरे झैँ उत्तर कैलाश तिब्बततर्फ र दक्षिण तुलिङदेखि लाप्चापाससम्म वनघोडा, वनचौँरी, ब्वाँसो, मर्मट, नाहुर, जङ्गली जनावर, पानीहाँस र चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ । अति मनमोहक हिमाली दृश्यावलोकन गर्न तिब्बत मानसरोवर कैलाश पुग्नै पर्दैन । एक पटक भ्रमण गरेर हेर्नुस् । अझ लिमीवासीलाई हिल्सा– तिलगाउँ– झाङ खन्दै गरेको मोटरबाटोले जोडेपछि चौतर्फी विकास ल्याउने छ । हिल्सा र लाप्चा नाकाले हुम्लालाई उत्तर तर्फबाट धेरै सहयोग पु¥याएको छ । हुम्लाको अर्को चुङ्ख (चखेली) नाका पनि सञ्चालनमा ल्याउन सके धेरै विकास गर्न सकिन्छ । यसतर्फ चीन सरकार सकारात्मक साथ तयारीमा लागेको छ । कालीकोट–जितेगाढा–हुमला सिम्कोट–हिल्सा मोटरबाटो नेपाल आर्मीद्वारा भर्खरै (२२ असार २०८२) मा निर्माण सम्पन्न गरेपछि हुम्ला कर्णाली अञ्चलको सर्वोपरि पर्यटक गन्तव्य जिल्ला हुन पुगेको छ । दुई लाख ५० हजार भारुमा मानसरोवर कैलाश भ्रमण गर्ने भारतीय पर्यटक अब स्थलमार्ग हुँदै ११/१२ दिने यात्राको सट्टा पाँच/छ दिनमा ६०/७० हजारमा सम्पन्न गर्दै छन् । अथाह रहस्य र कौतूहल बोकेको लिमी उपत्यकामा स्वदेशी–विदेशी, खास गरी युरोपियन र नेपाली पत्रकार एवं आन्तरिक पर्यटक (भ्रमण) गर्ने छन् । अब गाउँमै रोजगार खुल्दै छन् । 

हालसम्म लिमी उपत्यकामा विकासको अर्थराजनीति चल्छ । अर्थात् कुनै पनि दलको दलीय दर्शन, सिद्धान्त र विचार उनीहरूलाई थाहा छैन र मतलब पनि गर्दैनन् । “छक्क लामाले लाप्चा नाकाबाट मोटरबाटो ल्यायो सर्वसम्मत भोट उसलाई, माननीय जीवन शाहीले हिल्साबाट मोटरबाटो ल्यायो अर्कोचोटि उसलाई एकछापे भोट, बिजुली ल्याउन उनीहरू (दुई) ले सहयोग गरे, दुवै ठुला पार्टीका केन्द्रसम्म पहुँच भएका मान्छे हुन् । उसैलाई मत दिनु छ कुनै पनि व्यक्ति शत्रु र प्रतिपक्ष होइन,” नाम्खा–६ वडाध्यक्ष छिरिङ पाल्जोर तामाङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो हो मौलिक प्रजातन्त्रको अभ्यास– विकासका लागि राजनीति ।” अन्य वडा सदस्य भन्छन्, “उहाँहरू (माननीय राजनीति गर्नुहुन्छ हामी व्यापार र व्यवसाय, पशुपालन र गुम्बामा पूजाआजा गरी बस्छौँ, हाम्रो धर्म यही हो ।” 

लिमी उपत्यकामा मुखिया प्रथा कायम छ । एक–दुई वर्षमा मुखिया नवीकरण (निर्वाचन) हुने व्यक्ति नै स्थानीय तह वडाध्यक्ष चैतमा सम्पन्न हुने स्थानीय सरकारको निर्वाचनमा औपचारिक रूपमा वडा अध्यक्ष चुनिन्छ । वडाको विकास निर्माणमा उनको निर्देशन अनुसार सबै गाउँले जुट्नु पर्छ । खेतीपातीमा समेत सामूहिक कार्य हुने गर्छ । कर्मचारी हिसाबकिताब मिलाउने खर्च– व्यय र आम्दानी वडा समितिले व्यवस्थापन गर्छ । सम्पूर्ण आम्दानी खर्च पारदर्शिता अपनाइन्छ । 

हाल लिमी उपत्यका जान चार/पाँच दिन लगाएर खर्कमा बास बस्दै सिमकोटबाट हिँड्नु पर्दैन । सदरमुकामबाट चार/पाँच घण्टामा जिप सफारीबाट हेप्का–लेकडिङ्गा, घट्टेखोला–सेजीको चौर हुँदै नवाथाङ; त्यसै गरी हेप्का–केर्मी हुँदै एल्वाङ–सल्लीखोलाबाट र तीन/चार घण्टामा छोङ्सा हुँदै सेलीमान पार गरी नवाथाङ राल्सी÷तलुङखोला (लिमी उपत्यका) पुगिन्छ । पाँच हजार मिटर उचाइको न्यालुपास नाघेर लिमी उपत्यकाको शिर तलुङखोला– झोङदिक तातोपानी र तलुङताल हुँदै सल्खी चौबाटो पुगिन्छ । जहाँबाट एउटा मोटरबाटो तीन घण्टामा लाप्चापास (बोडर) र अर्को बाटो एक घण्टामा झाङ गाउँ पुग्न सकिन्छ । हाल तिब्बती नाका लाप्चा–राल्खी–झाङ र हाल्जीगाउँ मोटर साधनबाट आवतजावत गर्न सहज भएको छ । लाप्चाबाट चोरी व्यापार हुन्छ, किनभने नेपाल सरकारले भन्सारको व्यवस्था गरेको छैन । एउटा सानो गोठ र हालै सानो गुम्बा माने पूजाआजा गर्ने खम्बा गाडेको छ । धेरै कुरा व्यवस्थित गर्न बाँकी छन् । अध्यागमन/भन्सार चेक जाँच गर्ने संरचना निर्माण गर्न बाँकी छ । यो कार्यको व्यवस्थापन गर्ने र त्यहाँ क्वारनटाइन सुविधा हुने हो भने नेपालका घोडा, चौरी, भेडाबाख्रा र गाईवस्तुको सतप्रतिशत (तिब्बतमा झैँ) मूल्यमा तिब्बततर्फ निकासा गर्न सकिने स्थानीय बताउँछन् । 

आश्चर्य र रहस्यको कुरा लिमी उपत्यकाका कुनै पनि गरिब नागरिक भेटिँदैनन् । साथमा ४०/५० लाख नभएको र मौकापर्दा दुई/तीन करोड जम्मा पार्न नसक्ने कोही छैनन् । उनीहरूको खानपान पूर्ण तिब्बतीशैली र पूर्ण स्वस्थ्यकर हुन्छ । दिनमा तीन पटक खाना– बिहान चिया रोटी/चम्पा हल्का, दिवा भात/ढिँडो गरुङ्गो र बेलुका थुक्पाा (हल्का) न्यानो र निद्रा पर्ने, प्रायः थुक्पामा मासुको परिकार– आलोमासु वा सुकुटी अनिवार्य मिसाइन्छ । पुर्खाले चलाउँदै आएको विपश्यना र ध्यान पहराको गुफामा महिनौँसम्म खानपिनबिना गर्ने प्रचलन हटेको छैन । ती गुफा र पहराका आश्रम खाली भेटिन्छन् । स्थानीयद्वारा गुम्बामा नित्य पूजाआजा भइरहन्छ । सामूहिक भोजभतेर खाने, चाडबाड मनाउने, विदेशी अतिथि सत्कार गर्ने दुई/तीन सय व्यक्ति अटाउने सामुदायिक भवन प्रत्येक गाउँमा छन् । विदेशीको बाक्लो आगमन र सहयोग भइरहेको देखिन्छ । गुम्बाको संरचनाबारे वर्णन गरिसाध्ये छैन, सुनको जलप/लेपनले रङ्गिएका/जलप लगाएका भित्ता, मूर्ति, चाँदीका भाँडावर्तन प्रयोग एवं मूर्ति भेटिन्छन् । 

तिब्बती भाषाका बौद्धधर्म ग्रन्थका ठेली, भक्त, पुजारी, बौद्धधर्म सिक्ने र सिकाउने गुरु चेला बस्ने निवास प्रायः सबै गुम्बामा भेटिन्छन् । त्यति मात्रै होइन हाल्जीगाउँका ९/१० घरका दुई तल्लाका भित्ता र उनीहरूको दराजमा दुई/तीन सय वर्ष पुराना थाङ्का कुदेको/सुवर्ण पेन्टिङ भेटिन्छन् । ती कुरा उनीहरू गोप्य राख्छन् । पुरातात्त्विक दृष्टिकोणले त्यहाँका ती बहुमूल्य सम्पदा संरक्षण र संवर्धन गर्नुपर्ने आवश्यकता छ । तिब्बतबाट पलायन भएको ओरिजिनल परम्परागत, रीतिरिवाज र संस्कृतिलाई लिमी उपत्यकाले बचाएर राखेका कारण विदेशी त्यहाँको धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं कलाकौशलमा विद्यावारिधि गर्दा रहेछन् । पर्यटकीय दृष्टिकोणले यो क्षेत्र अति नै महत्वपूर्ण छ । 

अर्को रहस्य र नौलो कुरा त्यहाँका महिला अति सक्रिय भेटिन्छन्, भोजभतेर, विवाह, न्वारन, मृत्यु आदि र चाडपर्वमा पुरुषभन्दा महिला अगाडि देखिन्छन् । प्रत्येक महिलाको शरीरमा उक्त चाडपर्व र उत्सवका बेला कम्तीमा ४०/५० लाखको सुन, पिरु/सिपी र वेशभूषा पहिरन भेटिन्छन् । पुरुष र महिला छुट्टाछुट्टै (वारिपारि) भएर गाउँने–नाच्ने गर्छन् । खानपान र बसाइमा आफ्नै पद्धति छ । साधारण व्यक्ति, ज्येष्ठ, सम्मानित, उच्च र अति उच्च व्यक्तिलाई आआफ्नै रोलक्रम (डेक) मा बस्ने चलन छ । १०÷१२ जना महिलाले भोज भतेरमा लामो चुलोमा सामूहिक खाना पकाउँछन् । उक्त दिनमा कसैको घरमा पनि चुलो बल्दैन, चौँरी काट्ने, भेडाबाख्रा काट्ने, काठ र चाँदीजडित भाँडामा खाने र उक्त खाना नसकिएसम्म पर्व मनाइरहने चलन छ । मुखिया (गाउँठालु) वडाध्यक्षको आदेश सबैले शिरोधार्य गरिन्छ । सम्पूर्ण गाउँमा उसैको आदेश र निर्देशन स्थानीय प्रशासन र सुरक्षा निकायले समेत पालना गर्नु पर्छ । नत्र भने डन्ड जरिबानासमेत हुन्छ । जस्तैः लिमीस्थित सुनखानी प्रहरी चौकीले दुई पटकसम्म जरिबाना तिरेको उदाहरण रहेको वडाध्यक्ष बताउँछन् । पहिलो, नाहुर मारेको कसुर र दोस्रो, लिमीखोलामा माछा मारेको कसुरमा । उनीहरू एकताबद्ध छन् । 

धर्म र कर्ममा अति विश्वास र अनुशासित हुन चाहन्छन् । उनीहरूको तीन/चार वर्षमा मुखियाको निर्वाचन गर्ने पद्धति छ । नजिकैबाट हेर्दा यहाँ स्थानीय स्वायत्त शासन सञ्चालन भएको महसुस हुन्छ । स्थानीय युवा क्लब र आमा समूहको स्वीकृतिबाहेक पाहुना भित्र्याउन नसकिने व्यवस्था छ । उक्त ठाउँमा दोभाषे अनिवार्य चाहिन्छ किनभने यहाँका १/२ जना जनप्रतिनिधिबाहेकले नेपाली भाषा बोल्दैनन् बुझदैनन् बरु अङ्ग्रेजी बुझ्ने गाइड भेटिन्छन् । पर्यटनको दृष्टिकोणले हेर्दा त्यहाँको जैविक विविधता, भूबनोट, लिमी उपत्यका, झोँदिक (तुलिङ) तातोपानी, लाप्चा नाका, जहाँबाट सम्पूर्ण मानसरोवर ताल एवं कैलाश अवलोकन गर्न सकिन्छ र स्थानीय संस्कृति र गुम्बाको आकर्षण अवर्णनीय छ । 

लिमी उपत्यकाको सभ्यता र सम्पदा बचाई राखौँ । कर्णाली करिडोर राजमार्गले जोडेको त्रिदेशीय राष्ट्रिय सडक सञ्जाललाई बहुपक्षीय लाभ उठाऔँ । निश्चित उद्देश्य र लक्ष्यसहित छिमेकी मुलुक चीनको मानसरोवर कैलाशको वैभवलाई नेपाल र दक्षिणको मित्रराष्ट्र भारतसँग सम्पर्क सञ्जाल (सेतु) को काम गर्दै कर्णाली प्रदेशभरिका नेपाली सम्भाव्यतालाई बजारीकरण गरी लाभ उठाउने सोच, योजना, कार्यक्रममा सरिक हौँ । स्वदेशको भ्रमण र चिन्ने साहस गरौँ ।