• १८ भदौ २०८२, बुधबार

चीन-रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको छ-पुटिन

blog

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

बेइजिङ, भदौ १७ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबिचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताउनुभएको छ । यो भेटवार्ता चीनमा बुधबार हुने विशाल सैन्य परेडअघि सम्पन्न भएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनसहितका दर्जनौँ विश्व नेता चीनको शक्ति प्रदर्शनमा सहभागी हुन राजधानी बेइजिङमा भेला भएका छन् । “हाम्रो घनिष्ठ संवादले रुसी-चिनियाँ सम्बन्धको रणनीतिक प्रकृतिलाई स्पष्ट गर्छ, जुन अहिले अभूतपूर्व स्तरमा पुगेको छ”, पुटिनले पूल गरिएको लाइभ फिडमार्फत सीलाई भन्नुभयो । युद्धको समयमा दुवै मुलुकबिच भएको सहकार्यलाई स्वीकार गर्दै पुटिनले भन्नुभयो, “हामी सधैँ सँगै थियौँ र अहिले पनि सँगै छौँ ।”

सीले यस हप्ताको सुरुआतदेखि कूटनीतिक बैठक आरम्भ गर्नुभएको छ, जसमा उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनसमेत पर्छ । चीनले यस मञ्चलाई पश्चिमी प्रभुत्वको विकल्पको रूपमा प्रस्तुत गर्ने गरेको छ । बुधबार हुने सैन्य परेड दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्षको स्मरणमा आयोजना गरिएको हो । यसमा करिब दुई दर्जन विश्व नेता सहभागी हुनेछन् ।

-विश्वव्यापी अशान्ति-

सोमबार सम्पन्न शिखर सम्मेलनमा चीन र रुसका नेताहरूले पश्चिमी सरकारको आलोचना गरेका थिए । सीले केही मुलुकको ‘बदमासीपूर्ण व्यवहार’ को निन्दा गर्दै अप्रत्यक्षरूपमा अमेरिकालाई इङ्गित गर्नुभयो भने पुटिनले रुसको युक्रेन आक्रमणलाई औचित्यपूर्ण ठहर गर्दै द्वन्द्व सुरु गराएकोमा पश्चिमलाई दोष दिनुभयो । “चीन–रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षालाई सफलतापूर्वक सामना गरेको छ”, सीले मङ्गलबार पुटिनलाई भन्नुभयो ।

उहाँले ‘अझ न्यायपूर्ण र सन्तुलित विश्वव्यवस्था निर्माण गर्न’ मस्कोसँग सहकार्य गर्न बेइजिङ इच्छुक रहेको बताउनुभयो । सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिनुभन्दा केही अघि नै चीन र रुसले ‘सीमाविहीन साझेदारी’ को घोषणा गरेका थिए । त्यसयता दुवै मुलुकबिच सैन्य तथा व्यापारिक सम्बन्ध अझ प्रगाढ बनेका छन्, जसले पश्चिमी मुलुकलाई चिन्तित पारेको छ ।

चीनले रुसको युद्धलाई न त प्रत्यक्ष समर्थन गरेको छ, न त निन्दा नै गरेको छ । उसले आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र नियमितरूपमा युद्ध अन्त्यको आह्वान गर्ने गरेको छ । तर पश्चिमी देशहरूमाथि चीनले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व लामो बनाएको आरोप लगाउँदै आएको छ ।

सी र पुटिनबिच नियमित सम्पर्क हुने गरेको छ । उहाँहरूले गत महिना फोनमा कुराकानी गर्नुभएको थियो, जहाँ चिनियाँ नेताले मस्को र वासिङ्टनबिच सम्बन्ध सुधार भएको देखेर खुशी व्यक्त गर्नुभएको थियो । यसअघि मे महिनामा सीले दोस्रो विश्वयुद्धमा नाजीको पराजयको स्मरणमा रुसमा आयोजित मे ९ को उत्सवमा सहभागी हुन मस्को भ्रमण गर्नुभएको थियो ।

“चीन र रुसले राजनीतिक आपसी विश्वास र रणनीतिक सहकार्यलाई निरन्तर गहिरो बनाइरहेका छन् । यसले अन्तर्राष्ट्रिय उथलपुथलबिच बहुमूल्य स्थिरता र सकारात्मक ऊर्जा प्रदान गरेको छ”, सीले मे महिनाको भ्रमणका क्रममा भन्नुभएको थियो । रासस/एएफपी