• १८ भदौ २०८२, बुधबार

रुसमा तैनाथ उत्तर कोरियाली सेनामा ठूलो क्षति : करिब दुई हजार सैनिक मारिएको सियोलको दाबी

blog

सियोल, भदौ १७ गते । युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ ।

सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस)ले गत अप्रिलमा ‘युद्धमा मारिएका सैनिकको सङ्ख्या कम्तीमा छ सय थियो’ भन्ने तथ्याङ्क प्रस्तुत गरेको थियो । तर ताजा मूल्याङ्कनअनुसार अब मृतकको सङ्ख्या करिब दुई हजार पुगेको अनुमान गरिएको सांसद ली सेओङ–क्वेनले जासुसी एजेन्सीबाट ब्रिफिङ पाएपछि पत्रकारलाई बताउनुभयो ।

दक्षिण कोरिया र पश्चिमी गुप्तचर निकायहरूले उत्तर कोरियाले सन् २०२४ मा १० हजारभन्दा बढी सैनिकरुसमा पठाएको जनाएका छन् । ती सैनिक मुख्यतया कुस्र्क क्षेत्रमा तैनाथ गरिएका थिए । त्यहाँ उनीहरुले तोपगोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणाली प्रयोग गरेका थिए । सांसद लीका अनुसार प्योङयाङले थप छ हजार सैनिक तथा इन्जिनियररुसमा पठाउने योजना बनाएको छ । 

तीमध्ये करिब एक हजार हालसालै आइपुगेको एनआइएसले विश्वास गरेको छ । “हालैको छ हजार सैनिकको तेस्रो तैनाथी योजनामध्ये करिब एक हजार लडाकू इन्जिनियरहरू रुसमा प्रवेश गरिसकेका छन् भन्ने अनुमान गरिएको छ”, सांसद लीले भन्नुभयो । यस वर्षको सुरुमा, रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियाले कुस्र्क क्षेत्रमा निर्माण कर्ता र विस्फोटक हटाउने प्राविधिक पठाउने बताउनुभएको थियो ।

उत्तर कोरियाले अप्रिलमा मात्र युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना पठाएको स्वीकार गरेको थियो र आफ्ना केही सैनिक लडाइँमा मारिएको पुष्टि गरेको थियो । त्यस बेलादेखि नेता किम जोङ उनले रुसतर्फ लडिरहेका सैनिकको परिवारसँग भेट गर्दै उनीहरुको ‘असहनीय पीडा’का लागि समवेदना व्यक्त गर्नु भएको थियो । राज्य सञ्चालित मिडियाले किमले फर्केका सिपाहीलाई अँगालेको र ती सैनिक भावनामा अभिभूत हुँदै नेताको छातीमा टेकेर रोइरहेको तस्बिरसमेत प्रकाशित गरेको छ ।

त्यसैगरी, एक शहीद सैनिकको तस्बिर अगाडि घुँडा टेकेर श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको तस्बिरसँगै पदक र फूल राखिएको दृश्य पनि सार्वजनिक गरिएको छ । रुस र उत्तर कोरियाले गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाली दुर्लभ भ्रमणका क्रममा आपसी रक्षा खण्डसहित सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । रासस/एएफपी