• १८ भदौ २०८२, बुधबार

पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, ठूलो जनधनको क्षति

blog

अमृतसर (भारत), भदौ १७ गते । भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीकाे डुबानमा परेका छन् । बाढीका कारण हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीले जनाएका छन् ।

उत्तरपश्चिमी यो राज्यमा आएको बाढीले हालसम्म कम्तीमा २९ जनाको ज्यान लिएको छ भने गत महिना मात्रै दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए । पञ्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँमा आएको सबैभन्दा भीषण बाढी’को रूपमा चित्रण गरेका छन् । भारतको ‘ब्रेडबास्केट’ भनेर चिनिने यस क्षेत्रमा नौ सय ४० वर्गकिलोमिटर (तीन सय ६० वर्गमाइल) भन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । 

यसले ‘विनाशकारी बाली क्षति’ निम्त्याएको मुख्यमन्त्री भगवन्त मानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । प्रधानमन्त्री मोदीले सोमबार मुख्यमन्त्रीलाई सङ्घीय सरकारको ‘पूर्ण सहयोग’ रहने आश्वासन दिनुभएको छ । अधिकारीले गाईवस्तुको ठूलो सङ्ख्यामा क्षति हुने आशङ्का व्यक्त गरेका छन् । तर यसबारे स्पष्ट विवरण पानी घटेपछि मात्र पत्ता लाग्ने जनाइएको छ । सोमबार राज्य अधिकारीले ढिलो सार्वजनिक गरेको बुलेटिनमा यो कुरा उल्लेख गरिएको हो ।

फसेका मानिसको उद्धार तथा खाद्यान्न आपूर्ति गर्न भारतको सेना र विपद् व्यवस्थापन टोलीले एक हजारभन्दा बढी डुङ्गा र ३० वटा हेलिकप्टर परिचालन गर्दै विशाल उद्धार अभियान चलाइरहेका छन् । “सबैभन्दा महत्त्वपूर्ण कुरा पानीमा फसेका मानिस र असहाय जनावरको ज्यान बचाउनु हो”, मुख्यमन्त्री मानले विज्ञप्तिमा भन्नुभएको छ । यस क्षेत्रका नदी पाकिस्तानतर्फ बगेका कारण त्यहाँ पनि बाढीले ठूलो जमिन डुबानमा परेको छ ।

यस उपमहाद्वीपमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी समयमा बाढी र भूस्खलन सामान्य भए पनि जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण तिनको आवृत्ति, तीव्रता र प्रभाव बढिरहेको विज्ञ बताउँछन् । राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष उत्तरपश्चिम भारतमा जुनदेखि सेप्टेम्बरसम्म औसत वर्षातभन्दा एकतिहाइ बढी वर्षा भएको छ ।

राजधानी दिल्लीमा निरन्तर वर्षाका कारण यमुना नदीले खतराको तह पार गरेको छ । यसले सहरका धेरै क्षेत्र डुबानमा परेका छन् र घण्टौँसम्म भीषण ट्राफिक जाम भएको छ । गत महिना जम्मू–कश्मीरमा कीर्तिमानी वर्षासँगै आएको घातक बाढीले पनि दर्जनौँको ज्यान लिएको थियो । रासस/एएफपी