तिलाचन पाण्डे
तम्घास (गुल्मी), भदौ १७ गते । राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता नपाइने भयले प्रशासनमा परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको भिड लागेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको भिड लागको हो ।
मुसिकोट नगरपालिका –५ आपचौरकी ८६ वर्षीय चुमकला अर्यालले राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता नपाइने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीमा परिचयपत्र बनाउन आएको बताउनुभयो । पहिले राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता लिने गरे पनि अहिले भने वडा कार्यालयले परिचयपत्र नभई भत्ता नपाइने बताएपछि परिचयपत्र बनाउन आएको उहाँले बताउनुभयो ।
कार्यालय नखुल्दै लाइन
सोमबार बिहान कार्यालय नखुल्दै परिचयपत्र बनाउन प्रशासनमा लाइन लागेको थियो । कार्यालय नखुल्दै ९ बजेदेखि सेवाग्राहीहरु लाइनमा लागेका हुन् । मालिका गाउँपालिका –७ घमिरका ८० वर्षीय आत्मराम घिमिरेले पनि सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र अनिवार्य भनेपछि बिहानैदेखि लाइनमा आएर बसेको बताउनुभयो ।
पहिले नै आएर लाइनमा बसियो भने छिटो काम होला भनेर आफू कार्यालय समय अगावै लाइनमा बसेको बताउनुभयो । यस्तै, मुसिकोट नगरपालिका वडा २ खस्थोकका ८४ वर्षीय लीलबहादुर क्षेत्री पनि परिचयपत्र बनाउनकै लागि कार्यालय समय अगावै लाइनमा बस्नुभएको थियो । उहाँले पनि परिचयपत्र नभई भत्ता नपाइने भएपछि परिचयपत्र बनाउन प्रशासनमा आएको बताउनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय भएकाले पनि सेवाग्राहीको भिड लागेको बताउनुभयो । प्रशासनले वृद्धवृद्धालाई पहिलो प्राथमिकता दिएर सेवा प्रदान गर्दैआएको दाबी गर्नुभयो । परिचयपत्र बनाउनेको भिड लागेकाले ब्यवस्थित गर्नका लागि टोकन सिस्टम लागु गरिएको बताउनुभयो ।
आइतबार मात्र १२१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङकलन गरिएको गैरेले बताउनुभयो । जसमध्ये धेरै वृद्धवृद्धाहरु रहेको राष्ट्रिय परिचयपत्र फाँटकी सरिता आचार्यले बताउनुभयो । सोमबार पनि परिचयपत्र बनाउनेको भिड नै रहेको थियो । गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिनेको सङख्या बढी देखिएको छ ।
गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा ६२ जनाले नयाँ नागरिकता बनाउँदा ८६ जनाले प्रतिलिपि बनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्तामा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढिरहेको बताउनुभयो ।
नागरिकतालाई माया नगर्ने, जथाभावी फाल्ने र पहिले भएका गल्तीहरु सच्याउने गर्दा पनि प्रतिलिपि लिनेको सङ्ख्या बढी भएको हो । यसका साथै राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकतामा भएका गल्तीहरु देखिने भएकाले पनि प्रतिलिपि लिनेको सङ्ख्या बढेको गैरेले बताउनुभयो ।
सोही समयअवधिमा नाबालक परिचयपत्र नौ, राहदानीका लागि आवेदन सङ्कलन ११३, राहदानी वितरण ११०, राष्ट्रिय परिचयपत्रका लागि आवेदन २५८, परिचयपत्र वितरण २०१ र ३५ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको छ ।
यस समय अवधिमा राहदानीबाट पाँच लाख ६५ हजार, संस्था नवीकरणबाट छ हजार पाँच सय, राष्ट्रिय परिचयपत्रबाट दुई हजार रुपियाँ गरी कुल पाँच लाख ७३ हजार पाँचसय रुपियाँ राजस्व सङ्कलन भएको गैरेको भनाइ छ ।