नयाँदिल्ली, भदौ १४ गते । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका लागि भविष्यको ‘ग्लोबल हब’ का रूपमा प्रस्तुत गर्दै मङ्गलबार यसबारे घोषणा गर्नु भएको हो ।
नयाँदिल्लीमा आयोजित वार्षिक ‘सेमिकन इन्डिया सम्मेलन’ को उदघाटन समारोहमा बोल्दै मोदीले माइक्रोन र टाटाको परीक्षण चिप उत्पादन भइसकेको जानकारी दिनुभयो । “व्यावसायिक चिप उत्पादन यसै वर्ष सुरु हुने छ”, उहाँले भन्नुभयो, “यसले सेमिकन्डक्टर क्षेत्रमा भारत कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने देखाउँछ ।”
भारतको सेमिकन्डक्टर बजार सन् २०२३ मा ३८ अर्ब डलर थियो । यो २०२४-२०२५ मा बढेर ४५ देखि ५० अर्ब डलर पुगेको छ । सरकारले सन् २०३० सम्म एक खर्ब देखि एक खर्ब १० अर्ब डलरको लक्ष्य लिएको छ । देशले हाल १८ अर्ब डलरको लगानीमा १० सेमिकन्डक्टर परियोजना विकास गरिरहेको छ, जसमा नोएडा र बेङ्गलुरुस्थित दुई वटा नयाँ ३-न्यानोमिटर डिजाइन सुविधा पनि पर्छन् ।
“हाम्रो यात्रा ढिलो सुरु भए पनि अब हामीलाई कसैले रोक्न सक्दैन”, मोदीले जोड दिनुभयो । भारतको तीन क्षेत्रमा विशेष प्रभुत्व रहेको बताइएको छ-सेमिकन्डक्टर उपकरणका लागि कम्पोनेन्ट उत्पादन, रसायन र खनिज जस्ता महत्त्वपूर्ण सामग्री आपूर्ति र अनुसन्धान तथा विकासदेखि आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा र क्लाउड कम्प्युटिङसम्मका सेवा प्रदान ।
विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रले ‘मानव पूँजी’ लाई आफ्नो ठुला शक्तिमध्ये एक भएको दाबी गरेको छ । मोदीका अनुसार सेमिकन्डक्टर डिजाइन क्षेत्रमा विश्वव्यापी प्रतिभाको २० प्रतिशत भारतमै छ । गत हप्ताको टोकियो भ्रमणका क्रममा जापानले सेमिकन्डक्टर र एआई सहयोगमा लगानी बढाउँदै भारतमा एक सय खर्ब येन (६८ अर्ब डलर) पुर्याउने वाचा गरेपछि मोदीले यो घोषणा गर्नु भएको हो । विश्वको पाँचौँ ठुलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भारत अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत करको दण्डबाट प्रभावित भएको छ र विकासका नयाँ बाटो खोजिरहेको छ ।
अन्तर्राष्ट्रिय चिपको माग बढ्दो क्रममा भए पनि आपूर्ति मुट्ठीभर क्षेत्रमा केन्द्रित हुँदा भारतले ‘आत्मनिर्भर र विश्वव्यापी रूपमा प्रतिस्पर्धी’ बन्ने उद्देश्यसहित डिजाइन, निर्माण र प्याकेजिङलाई समेट्ने ‘पूर्ण इकोसिस्टम’ निर्माण गरिरहेको बताएको छ । “आजको भारतले संसारमा विश्वास जगाउँछ”, मोदीले यस हप्ताको सरकारी ब्रिफिङ नोटमा भन्नुभयो, “जब चिपको कुरा आउँछ, तपाईं आत्मविश्वासका साथ भारतलाई रोज्न सक्नुहुन्छ ।” रासस/एएफपी