बबई समाचारदाता
बबई (बर्दिया), भदौ १७ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा चोरीसिकारी नियन्त्रण र निकुञ्ज सुरक्षालाई प्रभावकारी बनाउन नदीमा र्याफ्टिङ गस्ती सुरु गरिएको छ । वर्षायाममा सडक बिग्रने र नियमित पैदल तथा सवारी गस्ती कठिन हुने भएकाले नयाँ विधि प्रयोग गरिएको हो ।
जम्मा ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज पश्चिम नेपालको प्रमुख पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ । बर्खामा भित्री सडक क्षतिग्रस्त भएपछि सुरक्षामा चुनौती बढ्ने गरेको छ । यसलाई ध्यानमा राख्दै निकुञ्ज प्रशासन, प्रकृति संरक्षण कोष, चोरीसिकारी नियन्त्रण अभियान, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र नेपाली सेनाको संयुक्त टोलीले कर्णाली नदी हुँदै गस्ती थालेको हो ।
निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार कर्णालीको गेरुवा भागमा समेत र्याफ्टिङ प्रयोग भइरहेको छ । उहाँले भन्नुभयो, “सडक बिग्रिएपछि पानीबाट गस्ती प्रभावकारी हुने देखिएको छ ।”
प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले नेपाली सेनासहितको टोलीले चिसापानी पुलदेखि कोठियाघाटसम्म र्याफ्टिङमार्फत निगरानी गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नदीको दुवै किनारमा अवैध गतिविधि रोक्न यो पहल गरिएको हो । कर्णाली नदी बर्दिया राष्ट्रिय निकुञ्जलाई दुई भागमा विभाजन गर्दै बगेको छ । यसको एउटा धार राजापुर हुँदै कैलाली सिमानासम्म पुग्छ भने अर्को धार राजापुर र मधुवन नगरपालिकाबिचबाट बग्छ । यी क्षेत्रमा चोरीसिकारीको जोखिम बढ्ने भएकाले नदी मार्गबाट गस्तीलाई प्राथमिकता दिइएको हो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले निकुञ्ज सुरक्षाका लागि नयाँ अभ्यासलाई आवश्यक कदम भएको बताउनुभयो । उहाँका अनुसार पैदल वा सवारी गस्ती वर्षायाममा सम्भव नभएकाले र्याफ्टिङ प्रभावकारी विकल्प बनेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले यसअघि पैदल र सवारीमार्फत मात्र गस्ती गर्दै आएको थियो । वर्षायामको कठिनाइले गर्दा यस वर्षदेखि नदीमार्ग भएर ¥याफ्टिङ गस्तीलाई नियमित कार्यका रूपमा अघि बढाइएको छ ।