• १७ भदौ २०८२, मङ्गलबार

सदरमुकाममै पहिरो गएपछि स्थानीय त्रसित

blog

सदरमुकाम खलङ्गामा पहिरोको जोखिममा परेको सर्वसाधारणको घर । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, भदौ १७ गते । जाजरकोट सदरमुकाम खलङ्गामा पहिरोको जोखिम बढ्दै गएको छ । भेरी नगरपालिका–३ र ४ का विभिन्न ठाउँमा पहिरो खसेपछि स्थानीय त्रसित भएका छन् । भूकम्पले चर्किएको जमिनमा अविरल बर्सातका कारण पहिरोको जोखिम बढ्दै गएको छ । 

सदरमुका खलङ्गास्थित भेरी नगरपालिका–४, नेपाल बैङ्क लिमिटेडको तल्लो भाग, सोही वडाको काजीवाडा, भेरी नगरपालिका–३, ठाँटीबजार, सोही वडाको पशु अस्पताल तथा पशु सेवा कार्यालयनजिक पहिरो खसेपछि दर्जनभन्दा बढी घर उच्च जोखिममा रहेका छन् । लगातारको बर्खाले ठाउँ ठाउँमा गएको पहिरोले भूकम्पपछि अस्थायी आवास निर्माण गरी बसेका सर्वसाधारण छोडेर सुरक्षित स्थानमा जाने गरेका छन् । 

बर्सातका कारण भेरी नगरपालिका–३ की वडा सदस्य गम्बकुमारी शाहको ढुङ्गामाटोले बनेको जस्तापाताले छानो छाएको एकतले घर पहिरोले पुरिएपछि विस्थापित हुनुभएको छ । राति टिनमा आवाज आएपछि बाहिर निस्किएको केही समयमा पहिरो खस्दा मानवीय क्षति नभए पनि घरमा क्षति पुग्यो । उहाँका अनुसार टिनमा आवाज आएपछि तत्काल बाहिर आएर बाँच्न सफल हुनुभयो । विपत् व्यवस्थापनको तालिममा सिकेको कुरा अपनाउँदा सुरक्षित भएको उहाँको भनाइ छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनताले पहिरो पन्छाएका छन् । 

भेरी नगरपालिका–४, काजीवाडानजिक पहिरो खसेपछि शान्तबहादुर परियारको अस्थायी आवास जोखिममा भएपछि छोडेर विस्थापित हुनुभएको छ । भूकम्पले घर भत्किएपछि अस्थायी आवासमा बस्दै आएका उहाँको परिवार छिमेकीको घरमा शरण लिन पुगेको छ । सरकारले घर पुनर्निर्माणका गरिदेला भन्ने आस गर्दागर्दै लामो समय बित्यो, सरकारले ढिलासुस्ती गरेपछि साहुबाट कर्जा लिएर घर बनाउन थालेका छन् । 

भेरी नगरपालिका–३, थाप्लेस्थित रामछाया शाहीको घर पहिरोका कारण उच्च जोखिममा रहेको छ । भेरी नगरपालिका–४, नेपाल बैङ्क लिमिटेडनजिक तल्लो भागमा पहिरो खसेपछि जनताका आवास जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत समीर गौतमका अनुसार छेडागाड नगरपालिका–४, ढाडटोलमा आएको पहिरोले दुई जना सर्वसाधारणको अस्थायी आवास, वडा नं. १ मा ढाडखोलाबाट आएको भलपानीसहितको पहिरोले पाँच, वडा नं. ६ देवलका करिब १२ सर्वसाधारणका अस्थायी आवासमा क्षति पुगेको छ । अविरल वर्षाले ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयले जोखिमपूर्ण बस्ती छोडेर गाउँबस्तीका जनतालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । भिरालो, भूकम्पले चर्किएको जमिन सरोकारवाला निकायको मौनताका कारण जनताले घर निर्माण गर्दा जथाभाबी माटो फाल्ने, घरबाट निस्कने फोहोर पानी व्यवस्थापनमा लापर्बाही गरेपछि समस्या आएको छ ।