• १७ भदौ २०८२, मङ्गलबार

कर्णालीको बिचमा रमणीय इन्टेक

blog

बर्दियाको गेरुवा गाउँपालिका–१ मा रहेको ओखरिया इन्टेक । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), भदौ १७ गते । बर्दियाको गेरुवा गाउँपालिका–१ मा पर्ने पर्यटकीय स्थल ओखरिया इन्टेक पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । कर्णाली नदीको बिच भागमा रहेको यो इन्टेक गर्मीमा त्यहाँ पुग्ने पर्यटकलाई शीतलता मात्र होइन, प्राकृतिक सौन्दर्यको अद्वितीय अनुभव दिन्छ ।

नदीको छाल र पानीको गर्जन, वरिपरिको हरियाली र शान्त वातावरणले यहाँ आउनेको मन लोभ्याउँछ । राजापुर सिँचाइ आयोजना अन्तर्गत निर्माण भएको नहर, नदी किनार र वनभोजका रमाइला क्षण कैद गर्न फोटो खिच्न पर्यटक लालायित हुन्छन् । गुलरिया–३ का विनोद भुसाल भन्नुहुन्छ, “ओखरिया इन्टेकबारे धेरै सुनेको थिएँ तर यहाँको दृश्य कल्पनाभन्दा बढी सुन्दर रहेछ । सरकारले यसलाई व्यवस्थित रूपमा विकास गर्न जरुरी छ ।” कोहलपुर–८ का सुरज सुवेदीका अनुसार इन्टेक पुग्दा बेग्लै आनन्द मिल्छ ।

होटेल अर्गनाइजेसन बर्दियाकी अध्यक्ष सङ्गीता थापाले भन्नुभयो, “जङ्गलका बिचमा खाजाघर सञ्चालन गर्न पाए रोजगारी सिर्जना हुने मात्र होइन, पर्यटकको बसाइ पनि बढ्ने छ ।” 

त्यस्तै कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष रवि मल्लले यातायात सम्पर्क जोड्न सकेमा पर्यटक आगमनमा थप ऊर्जा आउने बताउनुभयो ।

ओखरिया इन्टेक बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले ठुला विकासका काममा प्रतिबन्ध रहँदै आएको छ तर गेरुवा गाउँपालिकाले सडक निर्माण र आवश्यक पूर्वाधार विकासका काम अघि बढाइरहेको गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जसँगको समन्वयमा धेरै योजना बनाएका छौँ तर कार्यान्वयनमा चुनौती छ ।”

बर्दिया राष्ट्रिय निकुञ्जभित्रका अन्य गन्तव्यसँग ओखरिया इन्टेकलाई जोड्न सके यो क्षेत्र बर्दियाको प्रमुख पर्यटक केन्द्र बन्ने स्थानीयको विश्वास छ ।