• १७ भदौ २०८२, मङ्गलबार

चालिस हजार मेट्रिक टन गहुँ आयात गर्न प्रस्ताव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १७ गते । सरकारले भारतबाट ४० हजार मेट्रिक गहुँ आयात गर्ने भएको छ । त्यसका लागि खाद्य तथा मैदा उद्योगलाई प्रस्ताव गर्न सूचना सार्वजनिक गरेको छ । 

उद्योग विभागले भारत सरकारबाट भारतीय कम्पनी नेसनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेड (एनसिइएल) मार्फत नेपालले आयात गर्न स्वीकृति प्राप्त ४० हजार मेट्रिक टन गहुँ आयातका लागि सात दिनभित्र प्रस्ताव पेस गर्न उद्योगीलाई आह्वान गरेको हो  । 

स्थानीय उत्पादनले माग धान्न नसकेपछि भारतबाट गहुँ आयात गर्न लागिएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रायका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सात लाख १५ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ५५ हजार ६६७ मेट्रिक टन गहुँ उत्पादन भएको थयो । आव २०८०/८१ मा सबैभन्दा धेरै मधेश प्रदेशमा छ लाख ३२ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । 

दोस्रोमा लुम्बिनी प्रदेशमा पाँच लाख ३६ हजार मेट्रिक टन गहुँ फलेको थियो । यस्तै कोशी प्रदेशमा एक लाख ४८ हजार मेट्रिक टन, बागमतीमा एक लाख ७४ हजार मेट्रिक टन, कर्णालीमा एक लाख ८८ हजार मेट्रिक टन तथा सुदूरपश्चिममा तीन लाख ७७ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । सबैभन्दा कम भने गण्डकी प्रदेशमा ९९ हजार ५५१ मेट्रिक टन गहुँ उत्पादन भएको तथ्याङ्क छ । 

स्थानीय उत्पादन माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गर्छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा दुई अर्ब ७३ करोड रुपियाँको करिब ६५ हजार मेट्रिक टन गहुँ आयात भएको थियो । भारतले उत्पादन कम भएर गहुँ निर्यातमा रोक लगाएपछि गत वर्ष न्यून परिमाणमा आयात भएको थियो ।